नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ फागुन ।
साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार घटेको छ। यस दिन ५९.७ अंकले बजारको परिसूचक नेप्से घटेको हो। सो अंकको गिरावटपछि नेप्से २४५५ अंकमा कायम भएको छ। यस दिन कारोबार रकममा केही सुधार देखिएको छ। अघिल्लो दिन ६ अर्बभन्दा कम रकमको कारोबार भएकोमा यस दिन ६ अर्ब ११ करोडको सेयर किनबेच भयो।
यस दिन ब्यापार समूह भने २७८ अंक (९ प्रतिशत)ले बढेको छ। साल्ट ट्रेडिङको मूल्य १० प्रतिशतले बढ्दा समग्र समूह बढेको हो। होटल तथा पर्यटन समूह १६ अंकले बढेको छ। ती दुईबाहेकका सबै समूह घटेका छन्। बैंकिङ ४५, विकास बैंक ६०, जलविद्युत ४०, फाइनान्स २२, निर्जीवन बीमा ३४३, उत्पादन १५०, अन्य ४३, माइक्रोफाइनान्स ११२, जीवन बीमा ५१९, लगानी समूह १ अंकले घटेका छन्।
यस दिन चन्द्रागिरि हिल्स र साल्ट ट्रेडिङको मूल्य १० प्रतिशतले बढेको छ। आजको कारोबारपछि चन्द्रागिरिको मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ पुगेको छ भने साल्ट ट्रेडिङको मूल्य ९ हजार २२३ रुपैयाँ छ। त्यस्तै हिमालय पावर पार्टनरको मूल्य ८.८ प्रतिशतले बढेको छ। कम्पनीको मूल्य प्रतिकित्ता ३९२ रुपैयाँ छ।
यस दिन नेपाल हाइड्रो डेभलपर्सको मूल्य सबैभन्दा धेरै ७ प्रतिशतले घटेको छ। सो गिरावटपछि कम्पनीको मूल्य प्रतिकित्ता २७९ रुपैयाँ कायम भएको छ। त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ६.८ प्रतिशतले घटेको छ। कम्पनीको मूल्य प्रतिकित्ता ६७० रुपैयाँ कायम भएको छ।
कारोबार रकमका आधारमा एसियन लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको २८ करोड रुपैयाँको कारोबार हुँदा निफ्राको २५ करोडको सेयर किनबेच भयो। नेपाल बैंकको २२ करोड रुपैयाँको कारोबार भयो।