
नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै छ । पार्टी कार्यालय बालकुमारीमा बिहान साढे ११ बजेपछि बस्ने बैठकमा समसामयिक राजनीति र पार्टीको भूमिकाबारे छलफल हुने वरिष्ठ नेता महेन्द्र राय यादवले जानकारी दिए । तीन दलीय गठबन्धनका लागि जसपाको यो बैठकलाई महत्त्वका साथ हेरिएको छ ।
माओवादी र कांग्रेसले नयाँ सत्ता समीकरणका लागि जसपालाई पर्खिरहेका छन् । तर, निर्णायक मानिएको जसपा आफैं अनिर्णित छ । खासगरी प्रधानमन्त्री केपी ओलीलाई लिएर जसपाभित्र दुई धार रहेको बताइन्छ ।
अध्यक्षद्व उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ओलीलाई हटाएर कांग्रेस नेतृत्वमा सरकार बनाउन तयार देखिएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका थिए । तर, जसपाको सिंगो समर्थनबिना कांग्रेस र माओवादीले मात्रै सरकार बनाउन सक्दैनन् ।
जसपा संसदीय दलका नेतासमेत रहेका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भने प्रधानमन्त्री ओलीप्रति नै नरम देखिएका छन् । यसै कारण जसपा अनिर्णित बन्दै आएको छ । संसदीय दल बैठकमा विधान पारित गर्न र दलको नेता चुन्न नसक्नुमा जसपा नेतृत्वले ओलीलाई हेर्ने दुई खाले नजरलाई नै मुख्य कारक ठानिएको छ ।
सत्ता समीकरणबारे निर्णय लिनुअघि आफ्ना निलम्बित सांसद रेशम चौधरीलगायतका मधेस र थरुहट आन्दोलनका क्रममा पक्राउ परेका नेता–कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सुनिश्चित हुनुपर्ने मागमा जसपाभित्र एकमत छ । तर, माग पूरा गर्न तयार भए ओलीलाई नै स्वीकारेर अघि बढ्न सकिने पक्षमा ठाकुर र महतो छन् भने यादव र भट्टराई ओलीले सत्ताको नेतृत्व गर्ने नैतिक हैसियत गुमाइसकेको र केही माग पूरा गरिदिए भने पनि धन्यवाद दिएर उनलाई बिदा गर्नुपर्ने पक्षमा छन् ।
