नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ चैत ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका विभिन्न सहरमा बढ्दो क्रममा रहेको कोरोना संक्रमण नियन्त्रणबारे विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् । भर्चुअल माध्यमबाट भएको छलफलमा मुख्यमन्त्रीहरुसँग कोरोनाविरुद्धको कोरोना सङ्क्रमण नियन्त्रणको प्रयास र खोप वितरणको योजनाबारे छलफल गरेको बीबीसीले जनाएको छ ।
छलफलका क्रममा भारतीय प्रधानमन्त्री मोदीले पछिल्लो पटक केही राज्यहरुमा फेरि संक्रमण बढ्न थालेकाले यसको नियन्त्रणका लागि तुरुन्त कदमअघि बढाउन निर्देशन दिए ।
१ वर्षदेखि आम नागरिकले कोरोनासँग लडिरहेको र अहिलेसम्म सङ्क्रमितमध्ये ९६ प्रतिशत निको भइसकेको तथ्याङ्क प्रस्तुत गर्दै उनले तत्काल निर्णायक कदम चाल्न भनेका छन्। यो पटक केही साना सहरहरुमा समेत आरडीटीपीसीआर परीक्षण बढाउनुपर्ने भन्दै उनले सबै राज्यमा कन्ट्याक्ट ट्रेसिङको कामलाई तीव्रता दिन आग्रह गरे ।
भारतका विभिन्न सहरमा पछिल्लो समय अस्वाभाविक रुपमा कोरोना सङ्क्रमण बढिरहेको छ । भारतमा अहिलेसम्म १ करोड १४ लाखभन्दा धेरै व्यक्ति संक्रमित भइसकेका छन् ।