व्यक्तित्व तथा नेतृत्व विकाससम्बन्धी पुस्तक सार्वजनिक

शङ्कर प्रधान ‘सौर्य’ द्वारा लिखित व्यक्तित्व तथा नेतृत्व विकास पुस्तक हालै सार्वजनिक भएको छ । संस्कार पब्लिकेसनकी अध्यक्ष सपना श्रेष्ठको अध्यक्षतामा संघीय राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित नेपाल सरकारका पूर्व मुख्यसचिव एवम् पूर्व राजदूत लीलामणि पौडेललगायत अन्य अतिथिहरूले उक्त पुस्तकको सामूहिक रूपमा लोकार्पण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि लीलामणि पौडेलले पुस्तकको आवश्यकता र अपरिहार्यताको बारेमा प्रष्ट्याउदै ‘नेपाली समाजको चेतनास्तरलाई थप उकास्न र व्यक्तिको व्यक्तित्वलाई थप सशक्त एवम् प्रभावशाली बनाउनका निमित्त यस प्रकारका पुस्तकले अहम् भूमिका निर्वाह गर्ने छ ।’ उनले अगाडि भने ‘व्यक्तिको आवरणले मात्र होइन, उनको आन्तरिक आचरण प्रधान कुरा हो । व्यक्तिले आफूभित्रको सबल पक्षलाई मजबुत बनाउँदै र खराबीहरूलाई क्रमशः फ्याक्दै जान सक्नुपर्छ । सक्षम, कर्मठ र आदर्श व्यक्तित्व निर्माणका लागि सकारात्मक सोच, निरन्तरको अभ्यास, सकारात्मक कल्पनाशीलता एवम् ऊर्जाको आवश्यकता पर्दछ ।’



कार्यक्रममा पुस्तक समीक्षकको भूमिकामा बोल्दै फ्यामिली फेडेरेशन फर वल्र्ड पिस नेपालका अध्यक्ष प्रकाशबाबु थापाले ‘व्यक्तित्व तथा नेतृत्व विकास गर्न चाहने हरकोहीको लागि यो पुस्तक उपयोगी सावित हुने छ । व्यक्तिको पहिचान उसको पहिरनले मात्र होइन, उसको व्यवहार र प्रस्तुतीकरणले समेत निर्धारण गर्नेभएकोले आफ्ना बाह्य आकर्षणसँगै आन्तरिक गुणहरूलाई निखार्न र चम्किलो बनाउन मेहेनत गर्नुपर्दछ ।’

लेखक शङ्कर प्रधानले वर्तमान समयमा पुस्तकको सान्दर्भिकता र आवश्यकताको बारेमा जानकारी गराएका थिए । उनले भने ‘आजको युग विज्ञापन र प्रतिस्पर्धाको युग भए पनि युगको गतिसँगै व्यक्तिको व्यक्तित्वलाई पनि सामञ्जस्य गर्दै जान्नुपर्ने भएकोले नै यस प्रकारको पुस्तक लेखनप्रति आफ्नो ध्यान गएको हो ।’ लेखक प्रधानले अगाडि भने ‘मान्छे कस्तो देखिन्छले मात्र होइन, कस्तो देखाइन्छ र कति देखाउने भन्ने कुराले पनि अर्थ राख्ने भएकोले यस पुस्तकले पाठकवर्गमा केही न केही ज्ञान, सीप र अनुभव प्रदान गर्ने मैले विश्वास लिएको छु ।’

रोटरी क्लव अफ कीर्तिपुरकी अध्यक्ष एवम् ड्रिमप्वाइन्ट इन्स्टिच्युटकी पूर्व प्रशिक्षार्थी राज्यलक्ष्मी वैदारद्वारा स्वागत मन्तव्य राखिएको कार्यक्रममा विभिन्न व्यक्ति र व्यक्तित्वहरूलाई सम्मानपत्र पनि प्रदान गरिएको थियो ।

 

सम्बन्धित समाचार