कमला मुस्कान
काठमाडौं, १४ चैत ।
त्यो रात,
ढल्दै गएको समय
चन्द्रमा फरक्क पृथ्वीतिर फर्किएर
फिस्स हाँसेको बेला
धमिलो किरण र
चखिलो चेतना बोकेको अधबंैसे मानिस
सुनसान त्यो सानो कोठाभित्र
एक पुष्ट शरीर बोकेर…..
खुट्टे पलङ्गमाथि लमतन्न देखियो ।
उसले,
निद्राको प्रचुर महासागरमा
डुबुल्की खेल्दै….
कहिले दायाँ त कहिले बायाँ
कोल्टो फेर्दै…..
आँखाका अर्ध परेलीहरू च्यातेर
बेलाबखत पल्याक पुलुक
कोठा वरिपरि
ती आँखाका नानीहरू नचाउन थाल्यो ।
अस्पष्ट क्यानभास,
बालुवाद्वारा निर्मित…
एक अमूर्त कालो छायाँझैं देखिने तस्वीर…..
कोकाकोला र फ्याण्टाझैँ
दुरुस्त स्वरूपमा परिवर्तित देखियो ।
पुरुषका आँखा टोलाउँदै गए…
झन् झन् ती नजरहरू
त्यस आकृति वरिपरी नाच्न थाले,
रातको दोस्रो प्रहर….
अनि मादक हेराई…..
मादक, केवल मादक देखियो ।
कता कता…
केही हल्लिएझैँ,
केही चलेझैँ,
कोठा वरिपरि नाचेझैँ
अनि फुर्तिका साथ…
घुमीघुमी कुनै कुरा खोजेझैँ
त्यो तस्वीर….
परिवर्तन भयो–
आकृतिबाट छायाँ
र छायाँबाट अति सुन्दर षोडशीमा ।
अञ्जान बाला…
छापामार शैलीले
वल्लो छेऊ र पल्लो छेऊ
डुलिरहेको दृश्य…..
अकल्पनीय भएपछि….
अर्ध चेतन मुद्रामा
उत्तेजित हुँदै भन्यो लोलाएको स्वरले….
‘तिमी को हौ माया….?’
‘अध्यारो रातमा
यो कसको छायाँ…?
आँखा केही तिर्मिराए जस्तो..
मिठो प्रेम छाए जस्तो..
के के आशा राखिकन
मेरो नजिक आए जस्तो..’
भनी उसले
राता राता आँखा पार्दै
नजानिदो भाकामा ।
एकपछि अर्को प्रश्न–
‘बेदनामा हाँस्ने मान्छे,
पीडामा नि बाँच्ने मान्छे
अनेक पिर खपिकन,
आँशुमा नि नाच्ने मान्छे,
पेटमा बोकी हुर्काउने,
भुँडी चिरी जन्माउने,
चोर औँला समाएर,
जमिन सारा डुलाउने !’
मस्त निद्राले चूर भएको छोरोको अनुहारमा
फ्रिजकोे चिसो पानी छ्याप्दै
‘उठ पाजी बिहानको आठ बज्यो
हा..हा…हा….!
कुन मैंया सम्झिएर सुतेको थिस्, भन ?’
आमाले कन्सिरी उखेल्दै
छोरालाई प्रश्न गरिन् ।
आमाको बोली सुनेर
पुरुष पात्र झसङ्ग भयो
अनि लाजले भुतुक्क हुँदै
भन्यो उसले–
‘आमा तपाईँ पो !’
अनि सचेत मनले
खुट्टा समाएर
माफी माग्यो ।