एलपी पाैड्याल
काठमाडौं, १४ चैत ।
व्यक्तित्व भनेको के हो ? सबै व्यक्तिको व्यक्तित्व हुन्छ कि हुन्न ? यदि सबैको व्यक्तित्व हुन्छ भने व्यक्तित्व निर्माण गर्न किन जरुरी भयोे त ? व्यक्तित्व निर्माणभित्र के के कुरा पर्दछन् ? जीवनमा केही फरक काम गरेर आफ्नो बेग्लै प्रकारको पहिचान बनाउँ भनेर उत्साहित हुने व्यक्तिका लागि केही मननीय सन्दर्भहरू हुन् माथि उठाइएका प्रश्नहरू । यस लेखमा यिनै प्रश्नहरूको निरूपण गर्ने प्रयास गरिने छ ।
बोल्नु र राम्रोसँग बोल्नु पनि फरक फरक कुराहरू हुन् । बोल्नका लागि त यहाँ सबै बोल्छन् तर भाका मिलाएर, तर्कयुक्त ढङ्गले, श्रोताले सरल रूपमा बुझ्ने गरी र भन्न खोजेको कुरा स्पष्ठ हुने गरी बोल्ने क्षमताचाहिँ कमैको मात्र हुन्छ । मञ्चबाट एउटै विषयमा बोल्ने दुई वक्ताहरूमध्ये एउटाले दर्शक दीर्घाबाट श्रोताको ताली खान्छ भने अर्कोले गाली । गाली खाने वक्ताले पनि अन्यथा भने बोलेको हुँदैन, केवल बोल्ने तरिका वा ढङ्ग मिलाउन सकेको हुँदैन । बोलाइमा ढङ्ग पु¥याउनु नै कला हो, क्षमता हो । यही क्षमताका कारण एउटा वक्ता अर्को वक्ताभन्दा पृथक पहिचान बनाउन सफल हुन्छ ।
सभा, समारोह वा जमघटमा बोल्ने सबै वक्ताहरूले अपेक्षा त प्रशंसाकै गरेका हुन्छन् तर सबैका भाग्यमा ताली वा प्रशंसा जुरेको हुँदैन । सबै वक्ताको भाग्यमा श्रोताको वाहवाही पनि जुरेको हुँदैन । बोल्नुअगाडि निक्कै ठूलो फुर्ती लगाउनेहरू पनि रोष्टममा पुगेपछि भिजेको मुसो बन्छन् । बोल्न जानुअगाडि र रोष्टमबाट फर्किएपछिको उनीहरूको अनुहारमा निक्कै ठूलो परिवर्तन आएको देखिन्छ । वक्ता आफैं आफ्नो तेजोबध भएको महसुस गर्छ, राम्रो बोल्न नसकेकोमा खिन्नताको अनुभव गर्छ । आफ्नै समकक्षीसँग पनि आँखा मिलाउन असमर्थ हुन्छ ।
किन हुन्छ यस्तो ?
किनभने बोल्नुअगाडि उसले बोल्ने विषयमा कुनै तयारी गरेको हुँदैन, बोल्ने विषयमा कुनै अध्ययन पनि गरेको हुँदैन र बोल्ने कुरालाई खास्सै महत्व दिएको पनि हुँदैन । उसलाई ‘बोलिहालिन्छ नि !’ भन्ने दम्भ हुन्छ तर बोल्ने अभ्यास गरेको हुँदैन । बोलिने भाषामा पनि ध्यान पुगेको हुँदैन । विषय गहन भएर पनि बोल्ने भाँती नपुगेका कारण प्रस्तुति फितलो बनिदिँदा वक्ता तेल सकिनलागेको बत्तीजस्तै बन्नपुग्छ ।
एउटा कुसल वक्ता बन्न, एउटा प्रभावशाली वक्ता बन्न के कस्ता विषयमा ध्यान दिनु पर्छ र के कस्तो तयारी गर्नु पर्छ ? बोलेर आफ्नो व्यक्तित्वलाई कसरी उँचो बनाउन सकिन्छ ? आफ्नो बोलीमा कसरी मिठास भर्न सकिन्छ ? उपस्थित जनसमुदाय र साथीभाइहरूलाई कसरी आफूतिर आकर्षित गर्न सकिन्छ ? व्यक्तित्व र नेतृत्व विकासमा व्यक्तिको ज्ञान, बुद्धि र आचरणले कस्तो भूमिका निर्वाह गरेको हुन्छ ? अभिव्यक्ति कला त व्यक्तित्व निर्माणका विभिन्न आयमहरूमध्ये एक मात्र हो । त्यसो भए व्यक्तित्व निर्माण र नेतृत्व विकासलाई प्रभावमा पार्ने अरू के के अवयवहरू छन् त ? के ती अवयवहरूलाई आत्मसात् गरेर व्यक्तिले आफूलाई अरूभन्दा विषेश बनाउन सम्भव छ ? यी र यस्तै प्रश्नहरूको सहज निकास लिएर आएको छ शङ्कर प्रधान ‘सौर्य’ द्वारा लिखित पुस्तक ‘व्यक्तित्व तथा नेतृत्व विकास ।’
व्यक्तित्व के हो ?
व्यक्तिको पहिचान नै व्यक्तित्व हो । व्यक्तित्व निर्माणका बहुआयामिक पाटाहरू छन् । अर्थात् कुनै व्यक्तिको बाहिरी आवरणसहित आन्तरिक गुण वा विशेषताहरूको समग्र रूप नै व्यक्तित्व हो । शारीरिक अवस्था, भेषभूषा, श्रृङ्गार वा सजावट बाहिरी आवरण हुन् भने व्यक्तिको अध्ययन, बौद्धिकता, ज्ञान, योग्यता, सिप, विनयशीलता आदि आन्तरिक गुणहरू हुन् । व्यक्तिले गर्ने व्यवहारको पनि छुट्टै विशेषता रहेको हुन्छ । यिनै विशेषताहरू वा गुणका आधारमा एउटा व्यक्ति अर्को व्यक्तिभन्दा फरक हुन्छ वा विशेष हुन्छ । यो फरकपन नै व्यक्तित्व हो ।
हरेक मान्छे अर्को मान्छेभन्दा केही न केही त फरक हुन्छ नै, तर त्यस्तो सामान्य फरकपनले मात्र कुनै मान्छे विशेष वा विशिष्ट बन्न सक्तैन । यहाँ चर्चा गरिएको व्यक्तित्व निर्माणको सन्दर्भ सामान्य होइन ।
क्लियोपेट्रा आफ्नो सुन्दरताका कारण विश्वप्रसिद्ध थिइन् भने अष्टम्वक्र आफ्नो असाधारण विद्वत्ताका कारण । अष्टम्वक्र शारीरिक रूपमा कुरूप थिए तर समकालीन विश्वमा उनको विद्वतालाई चुनौती दिने सामथ्र्य राख्नसक्ने अरू कोही थिइनन् । क्लियोपेट्रा विश्व सुन्दरी थिइन् तर ज्ञान र चेतनाका हिसाबले सामान्य । तर यी दुवै आ–आफ्नै गुण र विशेषता कारण विश्व चर्चित बन्न पुगे, यही हो विशेष व्यक्तित्व । यही विशेष व्यक्तित्वका कारण उनीहरू आज पनि विश्व चर्चित छन् ।
मानिसका सीमा हुन्छन् । ऊ आफ्नो शारीरिक अवस्थालाई बदल्न सक्तैन । तर, आन्तरिक विशेषताहरूलाई भने पूरै परिवर्तन गर्ने सामथ्र्य राख्न सक्छ र ऊ विशेष बन्न सक्दछ । भनिन्छ, कालिदास विद्वान कालिदास बन्नु अगाडि महामूर्ख थिए । अनपढ र मूर्ख ठानेर उनकी पत्नीले उनलाई घरबाट निकालिदिएकी थिइन् । विद्वान बनेर मात्र घर फर्किने अठोट र दृढ आत्मविश्वासका साथ हिँडेका कालिदास महाज्ञानी बनेर मात्र फर्केनन्, संस्कृत साहित्यका महाकवि र विश्वप्रसिद्ध दार्शनिक कालिदास पनि बन्न सफल भए । यसको अर्थ, व्यक्तिले चाह्यो भने आफूलाई परिवर्तन गर्न र महान् बनाउन सक्दोरहेछ । त्यसैले सामान्य अवस्थाबाट महान्तातर्फको यात्रा नै व्यक्तित्व निर्माण हो ।
व्यक्तित्व र नेतृत्व विकास पुस्तकमा यस्ता धेरै सन्दर्भ र उदाहरणहरूलाई मार्मिक र हृदयस्पर्शी रूपमा प्रस्तुत गरिएको छ । यस पुस्तकमा व्यक्तित्व निर्माणका सूत्रहरू मात्र छैनन्, नेतृत्व विकासका लागि आवश्यक आधारहरू पनि प्रस्तुत गरिएको छ । त्यसैले पनि व्यक्तित्व निर्माण र नेतृत्व विकासका बारेमा जान्न चाहनेहरूका लागि यो पुस्तक एउटा कोशेढुङ्गा सावित हुने छ ।
यस पुस्तकलाई प्रभावकारी बनाउन लेखकले इतिहास, पुराण, विज्ञान, मनोविज्ञान, सामाजिक, राजनीतिक आदि क्षेत्रबाट सन्दर्भ र बिम्बहरू ल्याएर तथा तर्क र उदाहरणहरू दिएर अभिव्यक्तिलाई मर्मस्पर्शी बनाएका छन् । गैह्रआख्यानात्क कृति भएर पनि अधिकांश ठाउँहरूमा प्रस्तुति आख्यानात्मक भएको छ । पुस्तक पढ्दै जाँदा शब्द चयन र वाक्य गठनमा पनि लेखकको विशेष दख्खल रहेको अनुभव गर्न सकिन्छ । आख्यानात्मक कलेवरमा व्यक्तित्व निर्माण र अभिव्यक्ति कलासम्बन्धी जुन ज्ञान, सिप र प्रेरणा दिने प्रयास भएको छ, त्यो उदाहरणीय छ ।
शब्दहरू निर्जीव हुन्छन् तर तिनै निर्जीव शब्दहरू जब कुनै कुशल वक्ताको अधरबाट प्रवाहित हुने सौभाग्य प्राप्त गर्छन्, अनि ती शब्दहरू निर्जीव रहँदैनन्; सजीव भएर श्रोताका मन र मुटुहरूमा सल्बलाउन थाल्छन् । यस पुस्तकमा भएका शब्दहरूले पनि पाठकको मनलाई हुँडल्ने सामथ्र्य राख्दछन् । पुस्तक पढ्दै जाँदा लाग्ने छ, वास्तवमा सिक्न र गर्न धेरै बाँकी रहेछ । त्यसैले पनि समाजमा आफ्नो बेग्लै प्रकारको पहिचान बनाउन चाहने हरकोहीलाई यस पुस्तकले ज्ञान र जिज्ञासाको भोकलाई जगाइदिनेछ तथा व्यक्तिको बोल्ने र व्यवहार गर्ने ढङ्ग, ढाँचा वा तरिकालाई किञ्चित रूपमा भए पनि परिवर्तन गरिदिनेछ ।
पुस्तकको नाम: व्यक्तित्व र नेतृत्व विकास
लेखक: शङ्कर प्रधान ‘सौर्य’
प्रकाशक: संस्कार पब्लिकेशन प्रा.लि.
पृष्ठ: ३०४
मूल्य: रु. ४००।–