महाराजगञ्जमा देउवा, प्रचण्ड र बाबुरामबीच गोप्य वार्ता

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिन विषेश अधिवेशन आह्वान गरेपछि पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईबीच गोप्य भेटवार्ता भएको छ । सोमबार राति देउवाका नातेदार प्रमोद शमशेर राणाको निवास महाराजगञ्जमा भएको गोप्य भेटवार्तामा उपेन्द्र यादव पनि सहभागी रहेको स्रोतको दाबी छ ।

बजेट अधिवेशन बोलाउने बेला विशेष अधिवेशन बोलाएका प्रधानमन्त्री ओलीबिरुद्ध संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयका उनीहरुबीच छलफल भएको बुझिएको छ । ओलीलाई विश्वासको मत हासिल गर्न नसक्ने गरी आवश्यक रणनीति उनीहरुले तय गरेको बताइन्छ । प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गतेका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरिसकेकी छन्।



माओवादीले एकैपटक ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने र समर्थन फिर्ता लिने योजना बनाएको थियो। तर, जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले साथ नदिँदा त्यो रणनीति सफल हुन सकेन। त्यसपछि कांग्रेसले पनि अविश्वासको प्रस्ताव पेस गर्ने तयारी गरेको थियो । त्यो तयारी पनि जसपाकै कारण तयारीमै सिमित भएको थियो ।

प्रतिनिधि सभामा २७५ सदस्य रहेको छन्। प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिदै गर्दा ओलीलाई १ सय ३६ सांसदको समर्थन चाहिन्छ। तर, एमालेमा १२१ सांसद् छन्। जसमध्ये फरक पार्टीको अभ्यास गरिरहेका नेता माधवकुमार नेपाल समूहका ३५ भन्दा बढी सांसद् छन्।

ओलीले कारबाहीका लागि २७ सांसदलाई स्पष्टीकरण समेत सोधिसकेका छन्। सबै सांसदले जवाफ फर्काए पनि स्थायी कमिटीलाई कारबाही गर्ने निर्णय लिने अधिकार दिइएको छ।

संसद्मा कांग्रेसका ६३, माओवादी केन्द्रको ४९ (४ जनालाई कारबाहीपछि), जनता समाजवादी पार्टीका ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १-१ सांसद् छन्। जसमध्ये कांग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना निलम्बनमा परेका छन्। माधव समूहले ‘फ्लोर क्रस’ नगरेको अवस्थामा पनि ओलीलाई सत्तामा रहिरहन अन्य दलको १५ सांसद् आवश्यक पर्छ।

ओलीलाई समर्थन दिने या अविश्वासको प्रस्तावमा लाग्ने भन्नेबारे जसपा विभाजित भइसकेको छ। संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष नयाँ सरकार गठनको पक्षमा छन्। तर, अर्का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष अहिलेकै सरकारलाई निरन्तरता दिनुपर्ने पक्षमा छन्।

जसपा र माधव नेपालको साथ पाए सरकारमै निरन्तर रहने र विश्वासको मत नपाए फेरि संसद् भंग गरेर मध्यावदी निर्वाचनको घोषणा गर्ने तयारीमा ओली रहेको स्रोत बताउँछ ।

सम्बन्धित समाचार