माधव नेपाल आक्रमक-केपी ओली रक्षात्मक, पछि हटे बादल

प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल दौडधुपमा लागेका छन्। नेता नेपालले विहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। कांग्रेस सभापति देउवासँग एक घण्टा वार्तालापपछि नेपाल राष्ट्रपति भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका हुन्।

नेपाल विश्वासको मत लिनुअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पक्षमा रहेको जनाइएको छ। यसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी (जसपा)का नेता उपेन्द्र यादव सहमत देखिएका छन्। देउवाले भने पहिला नेपाल पक्षका सांसदले राजीनामा दिनुपर्ने अडान लिएको जनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार देउवालाई भेटेर ‘अर्ली इलेक्सन’मा मिलेर जान प्रस्ताव गरेका थिए।



नेपालले बुधबार माओवादी केन्द्रका अध्यक्ष दाहाल, जसपा नेता यादवसँग छलफल चलाएका थिए। नेपालले राष्ट्रियसभामा रिक्त पदमा आफूनिकट डा।खिमलाल देवकोटालाई उम्मेदवार बनाउने सहमति गराए। माओवादी छाडेका गृहमन्त्री रामबहादुर थापा बादलको रिक्त पदमा डा देवकोटालाई उठाउने भएपछि एमालेबाट उम्मेदवार निश्चित हुन सकेको छैन। थापालाई उम्मेदवार बनाउने तयारी गरेको एमालेलाई विपक्षीले देवकोटा अघि सारेपछि दबाब बढेको छ।

एमालेको विहीबार बसेको स्थायी समितिको बैठकले जित्ने निश्चित भएपछि मात्रै उम्मेदवार तय गर्ने निर्णय गरेको छ। बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आफ्नो जित निश्चित भएपछि मात्रै उम्मेदवारी घोषणा गर्ने निर्णय भएको बताए। ‘राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा जित सुनिश्चितताका लागि नेताहरूले विभिन्न सुझाव दिनुभएको छ’, प्रवक्ता ज्ञवालीले भने, ‘मतदातासँग कुराकानीपछि उम्मेदवार घोषणा गर्ने निर्णय भएको छ।’ प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले यसअघि थापालाई नै उम्मेदवार बनाउने बताएका थिए, भनेर आजको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार