नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ वैशाख ।

प्रधानमन्त्री केपी ओलीले वैशाख २७ गतेका लागि बोलाएको विषेश अधिवेशन स्थपगत गर्ने तयारी गरेका छन् । आज बोलाइएको आकस्मिक मन्त्रिपरिषद् बैठकले नै अधिवेशन स्थगित गर्ने निर्णय गर्ने तयारी भएको बालुवाटार स्रोतले जानकारी दियो । आफ्नै पार्टीको माधव नेपाल समूह र जसपाको राजेन्द्र महतो समूहले पनि साथ नदिने निश्चित भएपछि ओलीले विश्वासको मत नपाउने निश्चित भएको छ ।
साथै जसपामा आफूविरुद्ध पेश हुने तयारी भएको अविश्वासको प्रस्तावमा समर्थन जनाउनुपर्ने मत बलियो भएपछि ओलीले कोरोनाको बाहनामा संसद् अधिवेशन स्थगित गर्ने र अध्यादेशमार्फत नै बजेट ल्याएर कम्तिमा दसैंसम्म सरकारको नेतृत्व गर्ने रणनीति बनाएको बुझ्न सकिन्छ ।
ओलीले प्रतिनिधिसभाका २२ सांसद्लाई कोरोना भएको र तत्काल अधिवेशनको सम्भावना नभएको भन्दै सोहि बाहनामा संसद्लाई बन्धक बनाउने तयारी गरेपछि विपक्षीहरु थप छलफलमा जुटेका छन् ।
संघीय संसदका २२ जना सांसदसहित १ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ। आगामी सोमबार बस्ने प्रतिनिधिसभा बैठकलाई मध्यनजर गर्दै यही २२ देखि २४ गतेसम्म गरिएको स्वाब संकलनबाट ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो।
यसअघि नै दुईजना मन्त्रीसहित आठजना सांसदहरू सङ्क्रमण भएर आइसोलेशनमा थिए। बहालवाला मन्त्रीहरू भानुभक्त ढकाल र जुली महतोले आफू संक्रमित भएको जानकारी दिइसकेका छन्।
संसद सचिवालयका अनुसार सबैभन्दा धेरै सत्ताधारी नेकपा एमालेका १४ जना सांसदलाई सङ्क्रमण पुष्टि भएको छ भने जनता समाजवादी पार्टीका ४ जना, नेपाली काँग्रेसको २ जना र माओवादी केन्द्रका दुई जना सांसद सङ्क्रमित छन्। एमालेका सङ्क्रमितमध्ये दुईजना मन्त्री र एकजना पूर्वप्रधानमन्त्री समेत रहेको सचिवालयले जनाएको छ।
