नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ वैशाख ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक अहिले केहीबेरमा बस्दैछ । संवैधानिक परिषद्को अध्यक्षको हैसियतमा प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । गएको मंसिर ३० गतेपछि परिषद्को बैठक बसेको छैन ।
आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले नजाने बताएका छन् । सापकोटा यसअघिको बैठकमा पनि सहभागी भएका थिएनन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २१ गते मन्त्रिपरिषद्को सिफारिसमा दोस्रोपटक संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८ जारी गरेकी थिइन्।
अध्यक्ष र तीन सदस्य अर्थात् चार जना उपस्थित भएमा गणपूरक संख्या पुग्ने व्यवस्थालाई परिवर्तन गरी तीन जना मात्र भए निर्णय वैध हुने व्यवस्था नयाँ अध्यादेशमा छ । अध्यादेश जारी भएपछि परिषद्को बैठक बस्न लागेको हो । बैठकले रिक्त रहेका संवैधानिक आयोगहरूमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ ।
परिषद्मा प्रधानमन्त्री अध्यक्ष तथा सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्ष दलका नेता सदस्य रहने संवैधानिक व्यवस्था छ । अहिले उपसभामुखको पद रिक्त छ । प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्ष बैठकमा सहभागी भए नयाँ अध्यादेशअनुसार कोरम पुग्छ । तर प्रधानन्यायाधीश सहभागी नभए कोरम पुग्दैन ।
लोकसेवा आयोगमा सबै पदाधिकारी रिक्त छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई पद रिक्त छन् । महिला आयोगसहित अरु केही संवैधानिक आयोगमा पनि सदस्य पद खाली छन् ।
