ओलीलाई नेपाल पक्षको अल्टिमेटम-भोलि बिहान नौ बजेसम्म सहमति नभए सामूहिक राजीनामा

सत्तारुढ नेकपा एमाले माधव नेपाल समूहले पार्टी एकताका लागि सोमबार बिहान ९ बजेसम्मको समय दिएको छ । आइतबार साँझ सिंहदरबारमा बसेको नेपाल समूहका सांसदको बैठकले सोमबार बिहान ९ बजेसम्मको समय दिएको योगेश भट्टराईले जानकारी दिए ।

पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काएर पार्टीको संगठनलाई एकतावपूर्वको अवस्थामा लानुपर्ने नेपाल समूहको प्रमुख माग रहेको छ । ‘सर्वोच्चको फैसलाले एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काएको छ’, भट्टराईले भने, ‘त्यही अवस्थाबाट अगाडि बढ्ने वातावरण बनाउन पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई भोलि बिहान ९ बजेसम्मको समय दिएका छौँ ।’



आफूहरुले पार्टी अध्यक्षलाई पार्टीको जीवन सुचारु गर्न ध्यानाकर्षण मात्र गराएको र त्यो नभए जे निर्णय गर्नुपर्ने हो त्यही गर्ने अवस्थामा पुग्ने भट्टराईले चेतावनी दिए । पार्टीलाई सर्वोच्चको फैसलापछि पुरानै अवस्थामा फर्काए सोमबार संसदको विशेष अधिवेशनमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने र त्यो नगरी पेल्ने क्रियाकलाप भए फरक निर्णय हुने उनको भनाइ छ ।

‘९ बजेसम्ममा पार्टीलाई पुरानो संरचनामा फर्काउने प्रतिवद्धता जनाएमा संसदमा हाम्रो उपस्थिति हुन्छ। विश्वासको मतको पक्षमा मतदान हुन्छ’, भट्टराईले भने, ‘त्यो स्थिति भएन भने हामी जे निर्णय गर्नुपर्ने हो त्यही गछौँ । साढे ९ बजे संसद सचिवालयमा सबै सांसदलाई निम्ता गरेका छौँ ।’

एमालेमा माधव पक्षका प्रत्यक्ष निर्वाचित २२ र समानुपातिक १२ जना सांसद छन् । उनीहरूले आफ्नो राजीनामा पत्रमा तयार पारेका छन् । यो छलफलसँगै राजीनमा अहिलेलाई रोकिएको छ ।

सम्बन्धित समाचार