नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ वैशाख ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी बैठक बोलाएका छन्। देउवा निवास बुढानिलकण्ठमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि देउवाले यसबारे तयारीका लागि बैठक डाकेका हुन्। बैठकमा कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरु सहभागी हुनेछन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार प्रतिनिधि सभामा विश्वासको मत गुमाएसँगै नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको हो। बहुमत पुर्याउन ओलीलाई १३६ मत आवश्यक रहेकोमा उनले ९३ मतमात्र पाए।
ओलीले विश्वासको मत गुमाएलगत्तै सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीसमक्ष नयाँ सरकार गठन गर्न आह्वान गर्नका लागि आग्रह गरेका थिए।
सभापति देउवाले पदाधिकारी बैठक लगत्तै अन्य विपक्षी दलका नेताहरुसँग छलफल गर्ने तयारी गरेका छन्। यद्यपि यसको टुंगो लागिनसकेको सभापतिका स्वकीय सचिवले जनाए।
