प्रधानमन्त्रीले विश्वासको मत नलिने, नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा विश्वासको मत नलिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा आफूले विश्वासको मत नलिने, धारा ७६ (५) अनुसारको गठनका लागि मार्ग प्रशस्त गरिदिने बताएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री लिला श्रेष्ठले जानकारी दिए ।

“प्रधानमन्त्रीले सदनमा विश्वासको मत प्राप्त नहुने हुँदा संविधानको धारा ७६(५) अनुसार सरकार गठन गर्न राष्ट्रपतिलाई सिफारिस गर्छु भन्नुभयो,” श्रेष्ठले भने । उनका अनुसार बैठकले संसदको वर्षे अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय समेत गरेको छ ।



बैठकका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिएको उनको भनाइ छ । पदमुक्त भएको तीन दिनपछि अर्थात वैशाख ३० गते एमाले अध्यक्ष समेत रहेका ओली प्रधानमन्त्री नियुक्त भएका थिए ।

वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए । तर, वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमाभित्र काँग्रेस–माओवादीले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको हैसियतमा ओली पुनः संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो ।

सम्बन्धित समाचार