
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टी पदाधिकारी बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बिहान ९ बजे बैठक बस्न लागेको हो। यो बैठकमा पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठन गर्ने प्रयोजनका लागि समय दिएपछि कांग्रेसले विरोध गरेको छ। प्रधानमन्त्रीले विश्वासको मत नलिईरराजीनामा नदिई संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकारको आह्वान राष्ट्रपतिबाट भएको हो। त्यसैले संविधानअनुसार राष्ट्रपति अगाडि नबढेकोमा कांग्रेसले विरोध गरेको छ।
प्रधानमन्त्री ओली संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए। उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो तर विश्वासको मत आउने अवस्था नरहेको भन्दै अर्को उपधाराअनुसार नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्म राष्ट्रपतिले समय दिएकी छन्।
राष्ट्रपति संविधानअनुसार अगाडि नबढेकोले महाअभियोग लगाउनुपर्ने आवाज कांग्रेसभित्र उठेको छ। नयाँ सरकार बनाउन र राष्ट्रपतिविरूद्ध महाअभियोग लगाउन कांग्रेस नेता गगन थापाले माग गरेका छन्। साथै वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिबाटै संविधान मिच्ने काम भइरहेकोमा विरोध गरेका छन्। राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान फाल्ने षड्यन्त्र गरिरहेकोले लोकतन्त्र तथा संविधान रक्षाका लागि कांग्रेस अगाडि बढ्ने नेता पौडेल बताउँछन्।
कांग्रेसले राष्ट्रपतिविरूद्ध महाअभियोग, प्रधानमन्त्रीलाई अविश्वास प्रस्ताव, दलहरूको सहकार्यमा नयाँ सरकार गठनलगायतका विषय केन्द्रमा राखेर आज नेताहरूसँग छलफल गर्न लागेको देउवानिकट एक केन्द्रीय सदस्यले बताए।

