नेपाल समूहका नेताद्वारा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

नेकपा एमालेभित्र विवाद चर्किदै गर्दा निर्वाचन आयोगमा नेकपा (एकीकृत) दर्ताका लागि निवेदन परेको छ। अनेरास्ववियुका पूर्वनेता जीवन राई अध्यक्ष रहेको पार्टीको नाम नेकपा (एकीकृत) र चुनाव चिन्ह कमल राखिएको छ। पशुपति क्याम्पसका पूर्व नेता राई एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट मान्छिन्। संखुवासभा घर भएका राईले शुक्रबार नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन्। ‘जेठ ७ गते दल दर्ताका लागि निवेदन दिएको छु । दर्ता प्रक्रिया सकिएपछि थप कुरा बताउँने छु’ राईले भने।

नेकपा एकीकृतको उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेका छन्। कार्यसमिति २५ सदस्यीय रहेको छ ।



शनिबार बसेको एमालेको नेपाल खनाल समूहको स्थायी कमिटी बैठकमा पनि अर्को पार्टी खोल्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ। एमाले फुटको संघारमा पुगेको बेला आयोगमा एमालेका युवा नेताहरुले नयाँ दल दर्ताको लागि निवेदन दिएपछि यसलाई चासोका साथ हेरिएको छ।

आइतबार काठमाडौंबाट प्रकाशित एक दैनिक पत्रिकालाई अन्तर्वार्ता दिँदै एमालेका वरिष्ठ नेता नेपालले नयाँ दल खोल्ने निर्णयमा पुगेका बताएका छन्। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग बिबाद चुलिदै जाँदा नेपालसहितका नेताहरु नयाँ दल खोल्ने विषयमा छलफलमा छन्। यसअघि पनि सो समूहबीच नयाँ दल खोल्ने विषयमा छलफल भएको थियो।

नेपाल समूहकै योजनामा राईले नयाँ पार्टी दर्ता गरेको र केही दिनमै नेपाल समूहले आधिकारिक रुपमा सोही पार्टीमा प्रवेश गरेर अगाडि बढ्ने तयारी गरेको बताइन्छ ।

सम्बन्धित समाचार