
विवेकशील साझा पार्टीले संसद् विघटनको कदम संविधान र लोकतन्त्रको हत्या गरी अधिनायकवादी शैलीमा शासन सत्ता संचालन गर्न खोजेको टिप्पणी गरेको छ । आइतवार एक विज्ञप्ति जारी गर्दै पार्टीका प्रवक्ता शरदराज पाठकले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको यो पुरानै आकांक्षाको सुनियोजित निरन्तरता भएको टिप्पणी गरेका छन् ।
उनले पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकले यी धारणा तय भएको बताएका छन् । साझाले सर्वोच्च अदालतले संसद् विघटनबारे यसअघि जस्तै यस पटक पनि संवैधानिक सर्वोच्चता र लोकतन्त्रको पक्षमा फैसला गर्नेमा विश्वास समेत व्यक्त गरेको छ । ‘कोभिड-१९ ले मुलुक आक्रान्त भएको बेला औषधी, अक्सिजन, अस्पताल-शैया नपाएर नागरिकहरू रोइरहेका बेला निर्वाचनको घोषणा गर्नु मानवीय संवेदनाहीन क्रुरता हो,’ विवेकशील साझाले भनेको छ ।
विवेकशील साझाले प्रधानमन्त्री र राष्ट्रपतिले साँठगाँठ पूर्ण ढङ्गबाट लोकतन्त्र विरुद्ध गरिरहेको निरन्तर प्रहारको एकताबद्ध भएर विरोध गर्न राजनीतिक दलहरूलाई आह्वान समेत गरेको छ ।

