नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको लडाइ जित्न उपलब्ध स्वास्थ्य सेवालाई चुस्त दुरुस्त बनाउँदै खोपको समुचित व्यवस्था गर्नेतर्फ ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पन्न समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपचारमा कुनै किसिमको ढिलाई गर्ने छुट कसैलाई नभएको समेत बताए ।
प्रधानमन्त्रीले जुनसुकै देशबाट भए पनि प्रमाणित, प्रभावकारी र ढुवानी सहज गर्न सकिने खोपहरुका लागि पहल गर्न परराष्ट्र तथा स्वास्थ्य मन्त्रालय र केन्द्रका प्रमुखलाई विशेष निर्देशन दिए । ‘खोप ल्याउन सकियो भने कोभिड विरुद्धको लडाइँ जितिन्छ । अन्यथा लडाइँ गरिरहनु पर्ने भयो’, उनले भने ।
सरकारले हालै ल्याएको कोभिड १९ सम्बन्धी अध्यादेश बमोजिम गठित कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई आवश्यक जनशक्ति र संसाधन सरकारले तत्कालै उपलब्ध गराउने समेत बताए । प्रधानमन्त्रीले केन्द्रबाट संक्रमणको सम्पूर्ण तथ्य तथ्यांक हासिल गरी उपचार सेवाको अवस्था चिकित्सा कर्मी र स्वास्थ्य उपकरणको उपलब्धताबारे अध्यावधिक जानकारी लिन समेत निर्देशन दिए ।
‘पालिका-पालिकासम्म समन्वय गरी कति संक्रमित छन्, होम आइसोलेशनमा कति बसेका छन् र कति जँचाउन आएका छन्, कति आएका छैनन्, तिनको अवस्था के छ भन्ने सम्मको पूर्ण जानकारी देखि हामीसँग सुईसम्म कति छ भन्ने कुराको जानकारी लिएर कुनै कुराको पनि अभाव हुन नपाओस् भन्नेतर्फ ध्यान दिनुपर्छ’, उनले भने ।

