नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ जेठ ।

सर्वोच्च अदालतको आदेशपछि मन्त्री पद गुमाएका सात पूर्वमाओवादी नेता पुल्चोकस्थित मन्त्री क्वार्टर अझै छोडेका छैनन् । सर्वोच्च अदालतले संसद सदस्य नरहेका कारण उनीहरुलाई दोस्रो पटक मन्त्री नियुक्त गर्न नमिल्ने भन्दै मन्त्रीको हैसियतमा कामकाज गर्न नदिन अन्तरिम आदेश दिएको थियो ।
सर्वोच्चको आदेशपछि पूर्वमाओवादी नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी र दावा लामा मन्त्रिपरिषद बैठकमा सहभागी भएका छैनन् र मन्त्रालय पनि गएका छैनन् । तर मन्त्रीको सरकारी निवास भने छाडेका छैनन् ।
उनीहरु पुनः मन्त्री नियुक्तिको आशामा सरकारी निवासमै बसिरहेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलले मन्त्रीपरिषद् विस्तार गर्ने क्रममा उनीहरुलाई पुनः मन्त्री बनाउने तयारी गरेको बताइएको छ ।

