नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ जेठ ।

नेकपा एमालेका नेता गोकर्ण विष्टले नेकपा एमालेको एकता जोगाउन अन्तिम समयसम्म इमान्दार प्रयत्न रहने बताएका छन् । सामाजिक सञ्जालमार्फत विष्ट लेख्छन्, ‘नेकपा एमाले र जनसङ्गठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ।’
उनले राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नसक्ने पनि उल्लेख गरेका छन् ।
यसअघि विपक्षी गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दा विष्टले हस्ताक्षर गरेका थिएनन् । उनले नेपाल समूह छोडेको चर्चा थियो । तर बुधबार नेपाल समूहले जारी गरेको विज्ञव्तिमा विष्टको नाम परेपछि उनी नेपाल समूहमै रहेको पुष्टि भएको थियो ।

