नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ जेठ ।
भारतको उत्तर प्रदेशस्थित गोन्डा जिल्लामा मंगलबार राति सिलिन्डर पड्कदाँ दुईवटा पसल जमिनमा ढलेका छन् । यसको भग्नावशेषमा १४ जना पुरिए । प्रहरीले ७ जनाको उद्धार गरेपनि ७ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुई पूरुष, दुई महिला र तीन बच्चा छन् । घाइते भएकाहरुको अवस्था पनि गम्भीर छ । त्यसैकारण उनीहरुलाई जिल्ला अस्पतालमा प्राथमिक उपचारलगत्तै लखनऊस्थित ट्रमा सेन्टर लगिएको छ । युपीका मुख्यमन्त्री योगी आदित्यनाथले प्रभावितहरुलाई तत्कालै उद्धार गर्न र राहत बाँड्न निर्देशन दिएका छन् । त्यस्तै उनले घटनाको उच्च स्तरीय जाँच गर्न पनि आदेश दिएका छन् ।
बिस्फोटमा ढलेका यी दुबै पसल एकआपसमा जोडिएका थिए । स्थानीयका अनुसार टिकरी गाउँ निवासी नुरुल हसनसँग् पटाका बनाउने लाइसेन्स थियो । मंगलबार राती ११ बजे आसपास उनको घरमा बिस्फोट भयो । यो यति तेज थियो कि नुरुल हसनको पसलमात्रै नभएर नजिकैको पसल पनि जमिनमा ढल्यो । स्थानीयको सुचनापछि घटनास्थल पुगेको प्रहरीले जेसीबी र पोकलेन मेसिहरुको सहयोगमा भग्नावशेष हटाएर पीडितको उद्धार गरेको थियो ।