नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ जेठ ।

नेकपा एमाले स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले माओवादी केन्द्र औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको बताएका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै उनले केहि सञ्चार माध्यमहरुबाट आफ्नो नाम जोडेर नेकपा (माओवादी केन्द्र) मा फर्किन लागेको भनेर आएका आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले आफू केपी ओलीको नेतृत्वमा रहेको पार्टीसँगै रहेकाले माओवादी केन्द्रको आयू बढाउन गरिएका यी र यस्ता भ्रम एवं षड्यन्त्रपूर्ण झांसामा नआउन अपिल गरेका छन्।
रायमाझीले प्रचण्डमा रहेका कुर्सी मोह, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उनी राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भएको टिप्पणी गरेका हुन्। रायमाझीले भनेका छन्, ‘क. प्रचण्डमा रहेका कुर्सी मोह, अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशामा अगाडि बढाउदै कांग्रेस सभापतिको शरणामा पुगेको स्थिति छ।’
उनले सुशासनसहितको स्थिरतामार्फत मुलकमा दिगोरचौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागी अहिले केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा नै रहेको विज्ञप्तिमार्फत स्पष्ट पारेका छन्।
रायमाझीले भनेका छन्, ‘सुशासनसहितको स्थिरतामार्फत मुलकमा दिगो/चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागि अहिले हामी क. केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा नै रहेकोले औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयू बढाउन गरिएका यी र यस्ता भ्रम एवं षड्यन्त्रपूर्ण झांसामा नआउन सम्पूर्ण आदरणीय देशभक्त एवं प्रगतिशील महानुभावहरु/जनसमुदायमा हार्दिक अनुरोध/अपिल छ।’

