विपक्षी गठबन्धनतिर लागे मनाङे, गण्डकी प्रदेशमा कृष्णचन्द्र मुख्यमन्त्री बन्ने

गण्डकी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वको सरकारका मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सत्ता पक्षको साथ छोडेका छन्। मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने अघिल्लो रातदेखि मनाङे विपक्षी गठबन्धनतिर लागेका हुन्। मनाङेको मोर्चा परिवर्तनसँगै गण्डकी प्रदेशमा पनि विपक्षी गठबन्धन बलियो हुन पुगेको छ। एक मतले बहुमत दाबी गर्न नसक्ने अवस्थामा रहेको विपक्षी गठबन्धनलाई मनाङेको साथ प्राप्त भएपछि सरकार बनाउन सक्ने आधार तयार भएको छ।

मुख्यमन्त्री गुरुङले बिहीबार विश्वासको मत नपाउने भएसँगै १६८ (५) को प्रयोग नगरी मध्यावधि घोषणा गर्ने तयारीमा थिए। संसद बचाउनका लागि एमालेलाई साथ दिन छोडेको उनले सञ्चार माध्यमलाई प्रतिक्रिया दिएका छन्। उनले ‘आफू एकजनाका कारण संसद विघटनबाट जोगिन्छ भने यो सरकारलाई किन साथ दिइरहने भन्ने लागेर आफूले विपक्षी गठवन्धनलाई साथ दिन लागेको’ बताएका छन्। हाल मनाङेको फोन अफ छ।



कांग्रेस सांसद बिन्दुकुमार थापाले मनाङेले विपक्षी गठबन्धनलाई साथ दिने सञ्चार माध्यमबाट थाहा पाएको बताए। बुधबार साँझ बोलाइएको मन्त्रिपरिषद बैठकमा मनाङे उपस्थित नभएको बताइएको छ। आफ्नो पक्षमा मनाङेलाई कायम राख्न गुरुङले एमालेका सांसदलाई समेत खटाएको बताइएको छ।

मुख्यमन्त्री गुरुङले आज प्रदेश सभामा विश्वासको मत लिने तय भएको छ। उनको पक्षमा बहुमत पुग्ने आधार अहिलेसम्म देखिएको छैन। मनाङेले गुरुङको साथ छोडेपछि गुरुङको पक्षमा एमालेका २७ सांसद मात्रै देखिएका छन्। बहुमतका लागि ३१ सांसद आवश्यक पर्दछ।

१६८ (५) अनुसार बन्ने सरकारका लागि विपक्षी दलले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा अगाडि सार्ने तयारी गरको छ।

सम्बन्धित समाचार