युरोकप आजदेखि, पहिलो खेलमा इटाली र टर्की भिड्दै

कोरोना भाइरस महामारी फैलिएपछि गत वर्ष धेरै अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित भए । फुटबल, टेनिस, क्रिकेट, बक्सिङ, ब्याडमिन्टन आदि खेलका महत्वपूर्ण प्रतियोगिता स्थगित वा रद्द नै भए । यही क्रममा युरोकप २०२० प्रतियोगिता पनि स्थगित भएको थियो ।

युरोपियन फुटबल महासंघ (युइएफए)ले त्यति नै वेला स्थगित भएको युरोकप ११ जुन ०२१ देखि ११ जुलाई २०२१ सम्म आयोजना गर्ने निर्णय गरेको थियो । एक वर्षपछि धकेलिएको युरोकप शुक्रबार राति १२स्४५ बजे इटाली र टर्कीबीचको खेलसँगै विधिवत रूपमा १६औँ संस्करण सुरु हुँदै छ ।



सन् २०२१ मा प्रतियोगिता भए पनि युइएफएले यसको नाम ‘युरोकप २०२०’ नै राखेको छ । युरोपियन राष्ट्रहरूबीच मात्र हुने युरोकप फुटबल प्रतियोगिता ११ सहरका ११ रंगशालामा हुनेछन् । ११ जुलाईमा लन्डनको वयम्ली रंगशालामा १६औँ संस्करणको विजेता छिनोफनो हुनेछ । फुटबलका समर्थक, विश्लेषक तथा पारखीहरूले यो एक महिना युरोकप मात्र नभएर दक्षिण अमेरिकामा हुने कोपा अमेरिकाको पनि मज्जा लिनेछन् ।

युरोकप साँझको ६:४५ बजे सुरु हुन्छ । साँझदेखि राति अबेरसम्म युरोकप, त्यसपछि बिहानभरि कोपा अमेरिका फुटबलको मज्जा लिनेछन् समर्थकले । २४ राष्ट्रलाई ६ समूहमा विभाजन गरी प्रतिस्पर्धा हुने युरोकपमा कुल ५१ खेल हुनेछ । युइएफएले चार वर्षअघि नै सहभागी देशको संख्या १६ बाट २४ पुर्‍याएको थियो ।

प्रतियोगिताको नकआउट चरण खेल २६ जुनदेखि सुरु हुनेछ । २ जुलाईदखि क्वार्टरफाइनलका खेल सञ्चालन हुनेछ । ६ र ७ जुलाईमा प्रतियोगिताको सेमिफाइनल हुनेछ । ११ जुलाईमा इंग्ल्यान्डको वयम्ली रंगशालामा फाइनल खेल हुनेछ । युरोकप २०२० मा सहभागी २४ मध्ये १९ देशले अघिल्लो संस्करण खेलेका छन् ।

सम्बन्धित समाचार