नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० जेठ ।
युरोकप फुटबलमा आज तीन खेलहरु हुँदैछन् । युरोकपमा आज समूह ‘सी’ को दुई खेल र समूह ‘डी’ को एक खेल हुनेछ । आज हुने पहिलो खेलमा समूह ‘डी’ मा रहेको इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । लण्डनको वेम्बली स्टेडियममा हुने घरेलु टिम र क्रोएसियाबीचको खेल साँझ ६:४५ बजे हुनेछ ।
यस्तै आज हुने दोस्रो खेलमा अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच खेल हुनेछ । समूह ‘सी’ मा रहेको अष्ट्रिया र नर्थ म्यासेडोनियाबीचको खेल राति ९:४५ बजे हुनेछ । आजको अन्तिम खेलमा नेदरल्यान्ड्स र युक्रेनबीच हुनेछ । समूह ‘सी’ को नेदरल्यान्ड्सले घरेलु मैदानमा युक्रेनको सामना गर्नेछ । दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
युरोकप फुटबलमा बेल्जियमले शानदार सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा घरेलु टिम रुसलाई ३-० ले पराजित गर्दै बेल्जियमले शानदार सुरुवात गरेको हो ।
सेन्ट पिटर्सवर्गमा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गर्दा थोमस मुनिएरले थप एक गोल गरे । जितसँगै बेल्जियमले ३ अंक जोडेको छ । समूह ‘बी’ मा रहेको बेल्जियम शीर्ष स्थानमा रहेको छ ।
यता डेनमार्कलाई हराउँदै विजयी सुरुवात गरेको छ । कोपनहेगनमा शनिबार राति भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई १-० गोलले हराएको हो । फिनल्याण्डको जितमा जोएल पोहनपालोले ५९औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
यस्तै डेनमार्क पेनाल्टीमा गोल गर्न चुकेको थियो । खेलको ७४औँ मिनेटमा पिएरे इमिल गोल गर्न चुकेका थिए । फिनल्याण्डका खेलाडीले युसुफ पाउलसेनलाई लडाएपछि पाएको पेनाल्टीमा इमिलको प्रहार फिनल्याण्डका गोलकिपर लुकासले बचाएका थिए । युरोकपमा फिनल्याण्डको यो ऐतिहासिक जित हो ।
फिनल्याण्डले ऐतिहासिक जित निकाल्दा डेनमार्कले भने दुखद घटनाको सामना गर्नु परो । डेनमार्कका विंगर क्रिस्टियन एरिक्सन बेहोस भएर मैदान ढलेपछि डेनमार्क स्तब्ध भएको थियो । खेलको ४३औं मिनेटमा एरिक्सन अचेत भएका थिए ।
उनलाई आकस्मिक उपचारका लागि अस्पताल लगिएको थियो । पछि उनको होस खुलेपछि खेल फेरि शुरू भएको थियो । हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको डेनिस फुटबल एसोसियनले जनाएको छ ।