नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ जेठ ।

पछिल्लो समय चौतर्फी घेराबन्दीमा परेपछि प्रधानमन्त्री केपी ओली एमालेका नेताहरुप्रति थप लचिलो देखिन थालेका छन् । माधव नेपाल समूहका नेतासहितको स्थायी कमिटी बैठक बोलाउन तयार भएका ओलीले वामदेव गौतमलाई फकाउन पनि दूतको प्रयोग गरेका छन् । आज बिहान मात्र अर्थमन्त्री विष्णु पौडेल ओलीको सन्देशसहित गौतमलाई भेट्न भैसेपाटी पुगेका थिए ।
अदालतको निर्णय, नेपाल पक्षको असहयोग र विभिन्न प्रदेशमा आफूनिकट मुख्यमन्त्रीहरु अफ्यारोमा परेसँगै ओली नेपाल पक्षको माग पूरा गरि पार्टीलाई एक बनाउन लचिलो हुन तयार भएका हुन् । उनले गौतमलाई पनि उपध्यक्षको हैसियतमा पार्टीका गतिविधिमा सक्रिय रहन आग्रह गरेको बुझिएको छ ।
माधव पक्षले नयाँ पार्टी खोलेमा आफ्नो साथ रहने बताउँदै आएका गौतम पछिल्लो समय ओलीसँग दुरी बढाएका थिए । पार्टी कमिटी भंग गरेर आफूखुसी महाधिवेशन आयोजक कमिटी गठन गरेपछि गौतम ओलीसँग थप रुष्ट बनेका थिए ।
तर अदालतको फैसलापछि ओलीको निर्णय उल्टिएको र सहकार्यको लागि ओली लचिलो भएकोले नेपाल पक्ष र गौतम ओलीसँग थप छलफलमा जुट्न सहमत भएको स्रोतको दाबी छ ।
