नवकान्तिपुर संवाददाता
काठमाडौं, २ असार ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँ दिल्ली लगिंदै छ । नर्भिक अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार नआएपछि नयाँ दिल्ली लगिने भएको हो ।
उनलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ ।
ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गत सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । यसअघि कोरोना संक्रमित भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए ।
