नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ असार ।

एमालेको माधव नेपाल समूहको स्थायी कमिटीको भर्चुअल बैठकले आफ्ना कार्यकर्तालाई राहत तथा उद्धारमा खटाउने निर्णय गरेको छ । विहीबार बसेको सो समूहको बैठकले पीडितहरूको राहत र उद्दारका लागि सरकारको ध्यानाकर्षण गराउँने, विपत व्यवस्थापनका लागि गंगालाल तुलाधरको संयोजकत्वमा विज्ञहरुको टोली बनाउने र बाढी पहिरो गएका स्थानमा राहत र उद्दारका लागि विपत ग्रस्त स्थानमा केन्द्रदेखि वडा तहसम्मका सबै पार्टी कमिटीलाई परिचालन गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।
त्यस्तै बैठकले तत्कालका लागि राहत तथा उद्दार र दीर्घकालका लागि बाढी पहिरो न्युनीकरणका योजना बनाउनुपर्ने आवश्यक्ता देखिएको ठहर गरेको छ । बैठकले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्थाप्रति चासो व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
आजको बैठकमा राजनीतिक विषयमा कुनै छलफल नभएको नेतृ शाक्यको भनाइ छ ।
