नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ असार ।
नेदरल्याण्ड्स र बेल्जयम युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । गएराति भएको खेलमा अस्ट्रियालाई २–० गोलले हराउँदै नेदरल्याण्ड्स नकआउट चरणमा प्रवेश गरेको हो ।
नेदरल्याण्ड्सको जितमा ११ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमार्फत र डेञ्जल डुम्फ्रिजले ६७ औं मिनेटमा गोल गरे । समूह ‘सी’को गएराति नै भएको अर्को खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई २–१ गोलले हराएको छ। यो समूहमा नेदरल्याण्ड्सको ६ अङ्क रहेको छ भने युक्रेन र अस्ट्रियाको ३-३ अङ्क छ । अङ्कविहीन रहेको नर्थ म्यासेडोनिया लगभग बाहिरिएको छ ।
गएराति नै भएको खेलमा डेनमार्कलाई २–१ गोलले हराउँदै बेल्जियमले अन्तिम १६ को यात्रा पक्का गरेको हो । खेलको दोस्रो मिनेटमै युसुफ पाउल्सनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए पनि जितका लागि पर्याप्त भएन ।
बेल्जियमका थोर्गन हजार्डले ५४ र केभिन डि ब्रुइनले ७० औं मिनेटमा गोल गरे । हिजोको हारसँगै अङ्कविहीन रहेको डेनमार्कको अघिल्लो चरणमा पुग्ने सम्भावना लगभग सकिएको छ । समूह ‘बी’मा बेल्जियमको ६ तथा रुस र फिनल्यान्डको ३र३ अङ्क रहेको छ ।