युरोकप फुटबल : इटलीले वेल्सलाई हरायो, दुवै टिम नकआउट चरणमा प्रवेश

युरोकप फुटबलमा इटली समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति रोममा भएको समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० गोलले हराउँदै इटली नकआउट चरणमा प्रवेश गरेको हो । १० खेलाडीमा समेटिएको वेल्सलाई हराउन इटलीका माटियो पेसीनाले निर्णायक गोल गरे । उनले खेलको ३९ औं मिनेटमा गोल गरेका थिए ।

खेलको ५६ औं मिनेटमा इथान एम्पडुले रेड कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । इटलीका फेड्रिको बेर्नार्डेस्चीलाई फल गरेपछि रेफ्रीले उनलाई रेड कार्ड देखाएका थिए । इटलीले ३ खेलमा ९ अङ्क जोडेको छ। यसअघि इटलीले टर्कीलाई ३–० र स्विजरल्यान्डलाई पनि ३–० गोलले नै हराएको थियो ।



इटलीसँग पराजित भए पनि वेल्स उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । वेल्सले ३ खेलमा ४ अङ्क जोडेको छ । यसअघि वेल्सले स्विजरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको थियो भने टर्कीलाई २–० गोलले हराएको थियो ।

हिजो नै भएको अर्को खेलमा स्विजरल्यान्डले पहिलो जित निकालेको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा टर्कीलाई ३–१ गोलले हराउँदै स्विजरल्यान्डले पहिलो जित निकालेको हो । स्विजरल्यान्डलाई जित दिलाउन जद्रान शाकिरीले दुई र हरिस सेफेरोभीले एक गोल गरे । टर्कीका इरफान केभाचीले एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा स्विजरल्यान्डका हरिसले गोल गरे । २६ औं मिनेटमा शाकिरीले गोल गर्दै स्विजरल्यान्डलाई २–० गोलको अग्रता दिलाए । ६२ औं मिनेटमा टर्कीका इरफानले गोल गरेका थिए । फेरि खेलको ६८ औं मिनेटमा शाकिरीले गोल गरेर स्विजरल्यान्डलाई ३–१ को जित दिलाए ।

समूह ‘ए’ मा रहेको स्विजरल्यान्डले ३ खेलमा ४ अङ्क जोडेको छ । वेल्ससँग गोल अन्तरमा पछि पर्दा उ दोस्रो स्थानमा रहन भने सकेन । टर्की भने अङ्कविहीन बन्दै समूह चरणबाट बाहिरिएको छ ।

सम्बन्धित समाचार