नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ असार ।

कर्णाली प्रदेशका चार सांसदहरूलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरूद्ध प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष भ्याकेटमा गएसँगै एमालेमा बन्नै लागेको सहमति संकटमा परेको छ। ओली पक्ष भ्याकेटमा गएसँगै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले यसलाई पार्टी एकता नगर्ने षड्यन्त्र भनेको छ।
जेठ २७ गते सर्वोच्च अदालतले कर्णाली प्रदेशका एमाले सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अमरबहादुर थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो। पार्टीको ह्विपविपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई वैशाख ३ गते फ्लोर क्रस गरेर भोट दिएको आरोपमा नेकपा एमाले महाधिवेशन आयोजक कमिटीले उनीहरूलाई बर्खास्त गरेको थियो।
महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नसक्ने भन्दै चार संसदले अदालतमा उजुरी दिएका थिए। सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीलाई अवैध ठहर गर्दै उनीहरूको पुनर्बहाली हुने अन्तरिम आदेश दिएको थियो। वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले पनि महाधिवेशन आयोजक कमिटीलाई अवैध भन्दै आएको थियो। सर्वोच्चको आदेशपछि खनाल-नेपाल पक्ष २०७५ जेठ २ मा पार्टी फर्किने भनेर उत्साही बनेका थिए।
पार्टी एकताका लागि दुई पक्षका बीचमा अनौपचारिक छलफलहरू बाक्लो हुन थालेका थिए। ओली पक्षबाट अर्थमन्त्री विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, प्रवक्ता प्रदीप ज्ञवालीलगायत सक्रिय छन्। खनाल-नेपाल समूहबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, भीम आचार्य, योगेश भट्टराईलगायत सक्रिय थिए। एकताको वातावरण बनिरहेको बेला ओली पक्ष भ्याकेटमा गएपछि भने खनाल-नेपाल पक्ष सशंकित बनेको छ।
ओली भ्याकेटमा गएपछि माधव नेपालले समाजिक सञ्जालमा लेख्छन् – ‘कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ । स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो। सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ – सहजै देख्न सकिन्छ । असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु।’
