नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ असार ।
युरोपको विभिन्न ११ शहरमा आयोजना भइरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज दुई खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज राति समूह ‘डी’ का दुई खेलहरु हुनेछन् । जसमा इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्ड भिड्ने छन् ।
इंग्ल्यान्डले वेम्बली स्टेडियममा चेक रिपब्लिकसँग खेल्नेछ । दुई टिमबीचको खेल राति १२:४५ बजे शुरू हुनेछ । आज इंग्ल्यान्ड चेक रिपब्लिकलाई हराउँदै नकआउट चरणमा पुग्ने योजनामा रहेको छ । इंग्ल्यान्ड २ खेलमा ४ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।
इंग्ल्यान्डलाई बराबरीको नतिजाले समेत अन्तिम १६ मा पुर्याउने छ । तर, पराजित भएको खण्डमा अन्य टिमको नतिजामा निर्भर रहनु पर्ने छ ।
यसै समूहको अर्को खेलमा क्रोएसिया र स्कटल्याण्ड भिड्ने छन् । दुई टिमबीचको खेल राति १२:४५ बजे शुरू हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम १६ मा पुग्ने सम्भावना कायम राख्न चाहन्छन् ।