संसद् विघटन मुद्दामा आजदेखि निरन्तर सुनुवाइ, यस्तो छ विपक्षी गठबन्धनको तयारी

प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट निरन्तर सुनुवाई शुरु हुँदै छ । दोस्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिट निवेदनमा बहस गर्न निवेदक विपक्षी गठबन्धनले सुक्ष्म तयारी गरेको छ। आजदेखि संवैधानिक इजलासमा सुरु हुने बहसलाई व्यवस्थित र प्रभावकारी बनाउन निवेदक पक्षले आफूले पाएको समयलाई अधिकतम प्रयोग गर्न प्रत्येक कानुन व्यवसायीलाई समय निर्धारणदेखि बोल्ने विषयसम्म तोकिदिएको छ।

१४६ जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै दायर रिटको बहसका लागि निवेदक पक्षले १२ घण्टा र जवाफी बहसका लागि तीन घण्टा समय पाएको छ। प्राप्त समयलाई सदुपयोग गर्ने विषयमा मंगलबार विपक्षी गठबन्धन निकट कानुन व्यवसायीले नेताहरुसँग बसेर सबै तयारी पूरा गरेका हुन्।



कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, माधव नेपाल पक्ष र जसपाको उपेन्द्र यादव निकट कानुन व्यवसायी एवं नेताहरुले संवैधानिक इजलासमा हुने बहसलाई प्रभावकारी बनाउने योजना तयार पारेको हो। बैठकले बुधबार आफ्ना पक्षबाट पाँचजना मात्रै कानुन व्यवसायीलाई बहस गर्न अनुमति दिएको छ। यदि योजनाअनुसार इजलास पनि अघि बढ्यो भने निवेदक पक्षले बुधबार १२ मध्ये चार घण्टा खपत गर्नेछ।

सामान्यतयास् इजलासमा प्रत्येक दिन चार घण्टा बहस हुने हुनाले कानुन व्यवसायीलाई समय निर्धारण गरेर बोल्ने क्रमसमेत तोकिएको नेता भीम रावलले जानकारी दिए। तयार पारिएको कार्यतालिका अनुसार बुधबार बहसको सुरुवात अधिवक्ता खम्बबहादुर खातीले गर्नेछन्। उनलाई गठबन्धनले जम्मा २० मिनेट समय दिएको छ। उनलाई रिट निवेदनको तथ्य मात्रै राख्न अनुमति दिइएको छ।

खातीले भने, नेताहरुसहित बसेको वरिष्ठ अधिवक्ताहरुको बैठकले मलाई २० मिनेटको समय दिएको छ। त्यस अवधिमा मलाई रिट निवेदनको तथ्य मात्रै प्रस्तुत गर्ने अनुमति छ। थप विषय मलाई बोल्न अनुमति छैन।’ खातीपछि अर्का अधिवक्ता गोविन्द बन्दीले बहस गर्नेछन्। उनले रिट निवेदनको विषय वस्तु केन्द्रित बहसको थालनी गर्न अनुमति पाएका छन्। उनलाई ४० मिनेट मात्रै समय दिइएको छ। १४६ जना सांसदको तर्फबाट दायर भएको रिट निवेदन बन्दीले नै लेखेको हुनाले उनलाई ‘मेरिट बेस’ बहसको सुरु गर्न दिइएको हो।

उनीपछि पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता महादेव यादवले समय पाउनेछन्। उनलाई जम्मा ३० मिनेट समय दिइएको छ। यादवले ओलीले संविधानको धारा ७६ ९४० अनुसार विश्वासको मत नलिइ उपधारा ५ अनुसार सरकार गठन गर्न पाइन्छ कि पाइँदैन भन्ने विषयमा बहस केन्द्रित गर्नेछन्।

यादवपछि वरिष्ठ अधिवक्ता बर्दीबहादुर कार्की इजलास उपस्थित हुनेछन्। उनलाई गठबन्धनले एक घण्टाको समय दिएको खातीले जानकारी दिए। बुधबार निवेदकका तर्फबाट अन्तिम बहस वरिष्ठ अधिवक्ता शम्भु थापाले गर्नेछन्। उनले सबैभन्दा बढी डेढ घण्टा समय पाउनेछन्। विपक्षी गठबन्धनले मुख्य वकिलका रुपमा थापालाई नै उभ्याउने भएको छ।

छलफलमा सहभागी एक नेताले भने, ‘हरेक हिसाबले शम्भुजी यो मुद्दाको मुख्य वकिल हुनुहुन्छ। वरिष्ठतता मात्रै होइन उहाँका अरु केही पेशागत र व्यक्तिगत क्षमताका कारण उहाँलारई हामीले विश्वास गरेका छौँ।’

विघटन मुद्दाको सुनुवाइका लागी प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो नेतृत्वमा संवैधानिक इजलास गठन गरेका छन् । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का,ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराई छन् ।

सम्बन्धित समाचार