नवकान्तिपुर संवाददाता
काठमाडौं, १० असार ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजको बहस सुरु भएको छ । अहिले नेपाल बार एसोसिएसनका पूर्वमहासचिव एवं वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गरिरहेका छन् । उनले निवेदक पक्षबाट बहस गरेका हुन् । संसद् विघटनविरुद्ध शेरबहादुर देउवा मुख्य निवदेक रहेको रिटमा आज दोस्रो दिन पनि बहस जारी रहेको हो ।
निवेदकका तर्फबाट हिजो वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव र शम्भु थापा तथा अधिवक्ताहरु खम्बबहादुर खाती र गोविन्द्रप्रसाद शर्मा बन्दीले बहस गरेका थिए ।
निवेदकका तर्फबाट १५ घण्टा बहस गरिनेछ । त्यसपछि प्रतिवादीका तर्फबाट पनि १५ घण्टा नै बहस गरिनेछ । एमिकस क्युरीका चारजनाले आफ्नो राय दुई घण्टाभित्र राख्नेछन् । त्यसपछि सुनुवाइको प्रक्रिया सुरु हुनेछ ।
