‘माधव नेपालसहितको एमाले सम्भव छैन’

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को एकता बचाउन अन्तिम कसरत गरिरहँदा अध्यक्ष केपी शर्मा ओली पक्ष माधवकुमार नेपाल नफर्कने निचोडमा पुगेको छ । नेता नेपाल ‘लोकतान्त्रिक गठबन्धन’का नामबाट प्रधानमन्त्री ओलीविरुद्ध ध्रुवीकरण कसिलो बनाउन लागेकाले त्यो सम्भावना टाढिँदै गएको एक नेताले बताए ।

उनका अनुसार नेता नेपालसँग अहिले पनि अनौपचारिक माध्यमबाट संवाद भइरहेको छ । यसबीचमा ओली पक्षले उनीसँग सिधा सम्पर्क त गरेको छैन । तर, नेपालनिकट नेताहरूमार्फत नै संवाद टुटेको पनि छैन । तर, एकपछि अर्को अत्तो थाप्दै र पार्टी एकताको भावनालाई कमजोर तुल्याउँदै गएपछि ओली समूह माधव नेपालबाहेक पार्टी एकता गर्न सकिन्छ कि भनेर कोसिसमा जुटेको स्वीकार्छन् ।



“तपाईंले देख्नुभएको छ नि उहाँ बूढानीलकण्ठसँग डिप लभमा हुनुहुन्छ, वास्तवमा भन्ने हो भने एमाले एकताको बाधक नै त्यही हो,” उनी थप्छन् । अहिले दोस्रो तहका नेताहरूबीच सघन संवाद जारी छ । जेठ २ गतेको स्थायी कमिटी बैठक बोलाउने र त्यसैले सबै निर्णय गर्ने, नेकपा (माओवादी केन्द्र)बाट रहेकाहरूको न्यायोचित व्यवस्थापन गर्ने, मातहतका संरचना पनि एकतापूर्वकै अवस्थामा फर्काउने र दुवै पक्ष ‘जित–जित’को अवस्थामा पुगेर एकता बचाउने गरी छलफल नभएको होइन । चरण–चरणमा यसले निरन्तरता पाइरहेकै छ ।

यसबीचमा ओली समूहले प्राप्त गरेको सफलता भनेको नेपाल समूहका केही नेतालाई तटस्थ तुल्याउनु भएको उनीहरूको बुझाइ छ । अहिले नेपाल समूहभित्रै एकता बचाउने कि अलग पार्टी खोलेर जाने भन्ने बहस छ । ओली पक्षले विभिन्न समयमा गरेको एकता आह्वानले यो बहसको सिर्जना गरेको उनीपक्षीय नेता बताउँछन् ।

कथम् नेपाल आउन राजी नभए केही नेता मूल पार्टीमा फर्कने उनीहरूको विश्वास छ “हामी अहिले पनि छलफलमै छौँ । ठोस परिणाम ननिस्किएसम्म केही कुरा पनि सार्वजनिक नगर्ने मौखिक समझदारी पनि छ । हामी यतिचाहिँ भन्न सक्छौँ, एक–दुई दिनभित्रै परिणाम निस्कन्छ,” ती नेता जिकिर गर्दै भन्छन्, “भत्काउनेहरू त निरन्तर लागि नै रहेका छन् नि ।”

सम्बन्धित समाचार