प्रतिनिधि सभा विघटन मुद्दामा तेस्रो दिनको सुनुवाइ सुरु, बुधबारभित्र फैसला आउने

दोस्रोपटक भएको प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमाथि तेस्रो दिनको बहस सुरु भएको छ।

विहीबार गठबन्धनका आठ कानुन व्यवसायीले आफ्नो बहस गरेसँगै रिटलाई हेर्दाहेर्दैमा राखिएको थियो। आज वरिष्ठ अधिवक्ता श्रीहरि अर्याललगायत कानून व्यवसायीले बहस गर्नेछन्।



विहीबार वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, हरिहर दाहाल, प्रेमबहादुर खड्का, बोर्णबहादुर कार्की, मिथिलेससिंह यादव, हरि उप्रेती, गान्धी पण्डित र खगेन्द्र अधिकारीले बहस गरे। उनीहरुले बहसका क्रममा विघटन बदर हुनुपर्ने जिकिर पेस गरेका थिए। कानुन व्यवसायीहरुले बहसका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ को उपधारा ५ को सरकार गठन गर्दा संविधान मिचेको आरोप लगाए।

रिट निवेदक र सरकारी पक्षलाई अदाललते १५-१५ घण्टाको समय निर्धारण गरेको छ। अब रिट निवेदक तर्फका कानुन व्यवसायीलाई बहसका लागि ४ घण्टा ४५ मिनेट बाँकी छ। गठबन्धनको तर्फबाट करिब ३०० कानुन व्यवसायीले वकालातनामा दर्ता गराएका छन्। मुद्दाको फैसला बुधबारभित्र आउने बताइएको छ ।

सम्बन्धित समाचार