नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ असार ।

कोभिड १९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ । भाइरस संक्रमण दर नघटेको निष्कर्ष निकाल्दै उपत्यकाका तीनै जिल्ला प्रशासनले निषेधाज्ञा लम्ब्याउने तयारी गरेका छन् । निषेधाज्ञा अवधि थप एकसाता लम्बिने भएपनि कुन-कुन क्षेत्रलाई खुकुलो तुल्याउने र कुन-कुन क्षेत्रलाई कडाइ गर्ने भन्ने बारे निर्णय नभैसकेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।
आइतबार बेलुका बस्ने उपत्यकाका तीनै सीडीओको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णयसँगै थप आदेशहरु जारी गर्ने भएका छन् । सार्वजनिक यातायात खुलाउन दबाब आइरहेपनि तत्काल खुला गर्ने आफूहरुको तयारी नरहेको ललितपुर सीडीओ निरौलाले जानकारी दिए ।
‘सार्वजनिक यातायात खुलाउन हामीलाई दिनहुँ यातायात व्यवसायीको डेलिगेसन आइरहेको छ’ उनले भने, ‘तत्काल खुला गर्ने हाम्रो योजना छैन तर, एकदुई दिनको संक्रमण दर हेरेर निर्णय लिन्छौं ।’ निषेधाज्ञा खुकुलो भएको समयमा पनि जनस्वास्थ्यको मापदण्ड पालना नभएकाले अझै कडाइ पनि गर्नुपर्ने हुनसक्ने उनले जनाए ।
काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले पनि सार्वजनिक यातायात खुलाउन आफूहरु सकारात्मक रहेपनि हतार नगर्ने बताए । ‘स्वास्थ्य मन्त्रालयको सुझावलाई हेरेर यसबारे निर्णय हुन्छ तर, तत्काल खोलिहाल्ने हाम्रो तयारी छैन’ पराजुलीले भने । अहिलेको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म कायमै छ ।
