नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असार ।
इटाली युरो कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराति राति भएको दोस्रो प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको हो।
इंग्ल्यान्डको वेम्बली स्टेडियममा इटालीलाई जित दिलाउन परिवर्तित खेलाडीद्वय फेडरिको चिसा र माटियो पेसिनाले एक एक गोल गरे। अष्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए।
प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयमा इटालीले दुई गोल गर्यो। अष्ट्रियाले एक गोल फर्कायो।
खेलको ९५ औं मिनेटमा चिसाले गोल गर्दै इटालीलाई १-० गोलको सुरुवाती अग्रता दिलाए। उनले लियोनार्दोको पासमा गोल गरे। खेलको १ सय ५ औं मिनेटमा पेसिनाले गोल गर्दै इटालीलाई २-० को अग्रता दिलाए।
त्यसपछि खेलको ११४ औं मिनेटमा अष्ट्रियाका सासाले एक गोल फर्काएपनि इटाली २-१ ले विजयी भयो। यस जितसँगै इटालीले ३१ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ। इटालीले ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको हो।
इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो । सन् २०१८ सेप्टेम्बरमा यूइएफए नेसन्स लिगको समूह चरणमा पोर्चुगलसँग १–० ले पराजित भएपछि इटालीले हार व्यहोरेको छैन।
यससँगै इटाली क्वाटरफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ। अष्ट्रिया भने प्रतियोगिताबाट बाहिरिएको छ। इटालीले क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ।
हिजो राति नै भएको अर्को खेलमा वेल्सलाई पराजित गर्दै डेनमार्क यूरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को पहिलो खेलमा डेनमार्क ४-० को विशाल अन्तरले विजयी भएको हो । डेनर्माकलाई जीत दिलाउन कास्पर डोल्बर्गले दुई गोल गरे । त्यस्तै, जोआकिम माहले तथा मार्टिन ब्राथवेटले एक-एक गोल गरे । निकै प्रतिस्पर्धात्मक पहिलो हाफको २७ औँ मिनेटमा डोल्बर्गले डेनर्माकलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको सुरुवातमा नै उनले डेनमार्कको अग्रता दोब्बर बनाए । ८८ औँ मिनेटमा माहालेले अर्को गोल थपे । खेलको अन्त्यमा ह्यारी विल्सनले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा सिमित बन्यो । यसको फाइदा उठाउँदै ब्राथवेटले इन्जुरी समयमा अर्को गोल थपे । अब अर्को शनिबार बाकुमा हुने क्वार्टरफाइनल खेलमा डेनमार्कले नेदरल्याण्ड र चेक रिपब्लिकबीचको विजेतासँग भिड्नेछ ।