प्रतिनिधि सभा विघटन : आजदेखि विपक्षीको बहस सुरु

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा विपक्षीको तर्फबाट आजदेखि बहस सुरु हुँदै छ। सवैधानिक इजलासमा जारी बहसमा रिट निवेदकका तर्फबाट प्रारम्भिक बहस सकिएसँगै आजदेखि विपक्षी तर्फको बहस सुरु हुन लागेको हो।

आज प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालको नेतृत्वमा बहस सुरु हुने हुनेछ। त्यसैगरी विपक्षीका तर्फबाट पूर्व महान्यायाधिवक्ताद्वय सुशील पन्त र अग्नि खरेलले पनि बहस गर्ने जनाइएको छ। बहसको लागि सरकारी पक्षलाई १५ घण्टा समय दिइएको छ।



बुधबारदेखि सुरु भएको बहसमा निवेदक पक्षका वकिलहरुले बहुमत सांसद पक्षमा रहेको दाबी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने भनेर आदेश दिन माग गरेका छन्। वैकल्पिक सरकार गठनको सम्भावना रहेकोले प्रतिनिधि सभा विघटन गर्नु गलत भएको उनीहरुको तर्क छ।

देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेर राष्ट्रपति कार्यालयमा पेस गरिएको प्रस्ताव तथा सर्वोच्च अदालतमा रिट दर्ता गरेका विघटित प्रतिनिधि सभाका एक सय ४६ सांसदलाई पनि वैकल्पिक सरकार गठनको आधारका रुपमा उल्लेख गरेका छन्।

बहसमा उत्रिएका कानुन व्यवसायीले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि समेत प्रश्न उठाएका थिए। निवेदकका तर्फबाट ३६ जना वकिलले बहस गरेका थिए।

सम्बन्धित समाचार