नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ असार ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा पुनर्स्थापना हुनेमा कुनै शंका नरहेको बताएका छन्। सबै तथ्य, प्रमाण र नजिर हेर्दा संसद् पुनर्स्थापना हुने कुरामा आशंका गर्ने नरहेको दाहालले बताए। सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा आयोजित बुद्धिजीवीहरुसँगको अन्तर्क्रियामा उनले अझैपनि एउटा ठूलै खेल चलिराखेको गन्ध आइरहेको भन्दै प्रतिनिधि सभा पुनर्स्थापनाले पनि समस्या हल हुन नसक्ने बताए।
‘संसद् पुनर्स्थापना हुन्छ। सबै तथ्य, प्रमाण, नजिर सबै हेर्दा संसद् पुनर्स्थापना हुने कुरामा आशंका गर्ने ठाउँ छैन। तर, म अझै विश्वस्त हुन सक्या छैन’, प्रचण्डले भने, ‘अझैपनि एउटा खेल ठूलै चलिराखेको गन्ध आउँछ। अझैपनि पुनर्स्थापना नै गरेपनि त्यो पुनर्स्थापना नहुनुभन्दा रद्धि खालको हुनपनि सक्छ। संसद पुनर्स्थापनाले मात्रै हल नहुन सक्छ।’
उनले संसद् पुनर्स्थापना भएपछि पनि सरकार बनिहाल्छ भनेर ढुक्क हुने स्थिति बनिनसकेको बताए। यद्यपि, संसद् पुनर्स्थापना भएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री प्रचण्डको दाबी छ। उनले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्रवादी, समावेशी लोकतन्त्रवादी र धर्मनिरपेक्षतावादी नभएको टिप्पणी पनि गरे। उनले कोरोनाले गर्दा मात्रै समस्या भएको नभए ओलीको कदमविरुद्ध सडकमा लाखौं जनता उत्रिने स्थिति बन्ने बताए।
उनले आफूहरूको संघर्ष प्रधानमन्त्री ओलीको प्रवृत्तसँग भएको बताए। नेकपाकालमा माधवकुमार नेपाल र आफूले ओलीलाई संसदीय दलको नेता र पार्टीको साधारण सदस्यबाटै हटाएको स्मरण गरे।
अर्को प्रसंगमा प्रचण्डले नेपालीले आफ्नो निर्णय आफैँ गर्ने वातावरण बनाउनु नै आजको आवश्यकता भएको समेत बताए। ‘विगतका कमिकमजोरीको समीक्षा त हुन्छ नै। यतिबेलाको मुल मुद्दा भनेको संविधान, लोकतन्त्रको रक्षा हो’, उनले भने, ‘नेपालीहरूको निर्णय नेपालीले नै गर्न पाउनुपर्छ। यहाँ कुनै किसिमको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप हुन नपाओस् भनेर सर्तक पनि गराएका थियौँ। आजको आवश्यकता पनि यही हो।’
