सरकारले कृषि क्षेत्रलाई तहसनहस बनायो : वामदेव

नेकपा एमाले उपाध्यक्ष तथा अखिल नेपाल किसान महासंघका अध्यक्ष वामदेव गौतमले सरकारले किसान विरोधी कदम चालेर कृषि क्षेत्रलाई तहसनहस पार्ने काम गरेको आरोप लगाएका छन्। धान दिवसको अवसरमा शुभकामना प्रदान गर्दै नेता गौतमले कृषि क्षेत्रको विकासमा सरकार बाधक भएको बताएका हुन्। सरकारले बहुराष्ट्रिय कम्पनीलाई नेपालको प्राथमिक उत्पादनको क्षेत्रमा प्रवेश गराउनका लागि वैदेशिक लगानी व्यवस्था ऐनको अनुसूची संशोधन गरेर अनुकूल गरेर किसानलाई बेरोजगार र घरबारविहीन बनाउन लागेको आरोप लगाए।

‘हामीले पहिल्यैदेखि भन्दै आएका हौं, नेपालको कृषि क्षेत्रमा बहुराष्ट्रिय कम्पनीलाई प्रवेश गर्न दिइनुहुँदैन। यदि त्यसो गरियो भने नेपाली किसान जनताका हक, अधिकार र समृद्धिका सम्पूर्ण योजना भताभुङ्ग हुन्छन्,’ उनले विज्ञप्तीमा भनेका छन्।



नेता गौतमले आफूहरूले धेरै वर्षअघिदेखि भूमि बैंकको बिरोध गर्दै आएको बताए। ‘भूमि बैंक भनेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषहरूले अगाडि सारेका एजेण्डा हुन्। इण्डोनेशिया र फिलिपिन्समा पूर्णतः असफल भइसकेको यो कार्यक्रम अहिले हाम्रो देशमा ल्याउने काम वर्तमान सरकारबाट भएको छ ।,’

उनले निश्चित व्यापारिक घरानालाई पोस्ने गरी करार खेती भित्र्याउन सरकार दत्तचित्त भएर लागेको भन्दै यो नेपालको संविधान–२०७२ मा उल्लेखित खास सम्प्रभुताको विरुद्ध रहेको समेत बताए।

सम्बन्धित समाचार