नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ असार ।

नेकपा एमालेको खनाल–नेपाल समूहकी नेतृ तथा वाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली फेरि उल्टो बाटो हिँडेको प्रतिक्रिया दिएकी छिन् । एमालेको महाधिवेशन आयोजक कमिटी भङ्ग गरेर केन्द्रीय कमिटी बैठक बोलाइएको र स्थायी कमिटी सदस्यहरू थप गरिएको निर्णयका सन्दर्भमा उनले यस्तो बताएकी हुन् ।
“मिलेर जाने भनेपछि केपी ओली र माधव नेपालबीच छलफल हुनुपथ्र्यो । २०७५ जेठ २ को स्थायी कमिटी बोलाएर के–के गर्ने भन्ने छलफल गर्नुपथ्यो । त्यसलाई पारित गरेर केन्द्रीय कमिटी बैठक तय गर्नुपथ्र्यो । यो सुल्टो हुन्थ्यो । अवैध कमिटीबाट निर्णय गरेर उहाँले फेरि उल्टो काम भयो,” उनले भनिन् ।
उनले ओलीले सर्वोच्च अदालतको आदेश नमानेर अवैध कमिटीको बैठक बोलाउनै नहुने बताइन् । एकपक्षीय ढंगले अघि बढेर ओलीले एकता भाड्न खोजेको बताइन् । “आयोजक कमिटी भनेको हामीले मान्यता नदिएको कमिटी हो । सर्वोच्चले पनि अमान्य भनेको कमिटी हो । उहाँले आफ्नो दम्भ देखाउन सर्वोच्चको आदेश विपरीत बैठक बोलाउनुभयो । त्यही बैठकबाट कसलाई थप्ने, घटाउने लगायतका निर्णय गर्न पाइन्छ ? यो कमिटीको बैठक राख्नै हुँदैनथ्यो । अवैध कमिटीको राखेर विभिन्न निर्णय गर्नुले एकता खलबल्याउन, भाँड्न खोजेको हो । यो उहाँको तरिका बेठिक छ,” उनको भनाइ छ ।
एकतालाई स्वच्छ भावनाका साथ अघि बढाउनुपर्नेमा त्यस्तो हुन नसको उनले बताइन् । १८ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकका विषयमा भने छलफल गरेर टुङगोमा पुग्ने जानकारी दिइन् ।
