नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ असार ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार चाँडै बन्ने भन्दै त्यसपछिका योजनाहरु सुनाएका छन् । नयाँ सरकार बनेपछि खोप ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखिने उनले सुनाए ।
आज विपक्षी गठवन्धनले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले सर्वोच्चले संसद पुनस्स्थापना गर्ने विश्वास व्यक्त गर्दै नयाँ सरकार चाँडै बन्ने दावी गरेका हुन् ।
सरकार बनेपछिका योजना उनले यसरी सुनाए :
‘मैले अस्ति पनि भनेँ नयाँ सरकार बनेपछि हामी जाने भनेको त संविधान, लोकतन्त्र, राष्ट्रियता, जनजीविकाको पक्षमा नै हो । पहिलो त हाम्रो उद्देश्य जिउधनको रक्षा नै हुन्छ । नयाँ सरकार बन्ने वित्तिकैको पहिलो एजेन्डा खोप ल्याउने बनाइन्छ । त्यसका लागि अहिल्यैदेखि तयारी सुरु गरिएको छ । विभिन्न मित्रराष्ट्रहरुसँग खोपसम्बन्धी स्थिति के छ भन्ने छलफल थालिएको छ । सरकार बन्नेबित्तिकै खोप ल्याउने र जनताको जिउधन रक्षा गर्ने कामलाई प्राथमिकता दिइन्छ ।’
‘खोपपछि बाढीपिडितको राहत र पुनस्स्थापनालाई प्राथमिकता दिइन्छ । यो बीचमा भएका भ्रष्टाचार, गलत नियुक्तीहरु अवैधानिक नियुक्तीहरु । यो सरकार नै वैधानिक छैन । यो सरकार त कामचलाउ पनि होइन । अवैधानिक सरकारले गरेका अवैधानिक नियुक्ती खारेज गरेर अघि बढ्छौं ।’
आफूहरु र प्रधानमन्त्री केपी ओली उस्तै नभएको प्रचण्डले फेरि दोहोर्याए । आफूलाई अस्थिर भनेर आलोचना गरिएकोमा पनि उनले गुनासो गरे । प्रचण्डले भने, ‘प्रचण्ड कहिले यता, कहिले उता भन्नुहुन्छ । मलाई कहिले यता, कहिले उता गर्ने कसले बनायो ?’
