एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी होला नेपाल समूह ? के छ तयारी ?

नेकपा एमालेको खनाल–नेपाल समूहका नेताहरु भोलिका लागि डाकिएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने या नहुने भन्नेबारेमा अलमलमा परेका छन् । दशौं महाधिवेशन आयोजक कमिटी अवैध रहेकोले त्यो कमिटीको निर्णय अनुसार बैठक बोलाइएकोले बैठकमा सहभागी हुने या नहुने भन्नेबारे अहिले नै भन्न नसकिने खनाल–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए।

यस्तै दशौं महाधिवेशन आयोजक कमिटीले गरेका निर्णयको कुनै तुक नरहेकोले यसबारे अहिले नै भन्न नसकिने नेता गोकर्ण विष्टले बताए । हिजो बसेको एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।



बैठकले भोलिका लागि केन्द्रीय कमिटी बैठक आह्वानसमेत गरेको छ । केन्द्रीय कमिटीलाई माओवादी केन्द्रबाट आएका ४ जना थपेर २६१ सदस्यीय बनाइएको छ । महाधिवेशन आयोजक कमिटी भङ्ग भएसँगै खनाल–नेपाल समूहमाथि लगाइएको कारबाही पनि खारेज भएको छ ।

तर, खनाल–नेपाल समूहले भने हिजोको निर्णयलाई अर्को जालझेल र अलमल्याउने निर्णयका रुपमा बुझेका छन् । यसबारे खनाल–नेपाल समूहका नेताहरु औपचारिक र अनौपचारिक छलफलमा जुट्दै छन् । हिजोदेखि नै अनौपचारिक छलफलमा जुटेका उनीहरुले आज औपचारिक छलफल गर्दै छन् ।

सम्बन्धित समाचार