नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ असार ।

लुम्बिनी प्रदेश सरकारको वैधतामाथि नै विपक्षी प्रश्न उठाइरहेका बेला जसपाबाट सरकारमा सहभागी सुमन शर्माले शुक्रबार राजीनामा दिइन् । यससँगै लुम्बिनीको राजनीतिमा नयाँ तरंग पैदा भएको छ । प्रदेशसभामा बहुमत देखाउन मुख्यमन्त्रीलाई चुनौती दिइरहेका विपक्षीलाई शर्माको राजीनामाले थप बल पुगेको छ । कुल ८३ प्रदेशसभा सदस्यमध्ये ४१ सदस्य आफ्नो पक्षमा देखाएर मुख्यमन्त्रीमा पुनः नियुक्त भएका शंकर पोखरेललाई समर्थन गरेका तीन सांसदले यसअघि नै साथ छाडिसकेका छन् । यससँगै शर्माको राजीनामा आएपछि पोखरेलको मुख्यमन्त्री पद नै धरमराएको छ ।
पोखरेललाई साथ दिएका दाङका अमर डाँगी र कपिलवस्तुका दृघनारायण पाण्डेले यसअघि नै सांसदबाट राजीनामा दिइसकेका छन् भने दाङकै विमला वलीले माओवादी प्रवेश गरेको घोषणा गरिसकेकी छिन् । शर्माले पनि राजीनामा दिएपछि पोखरेल ३८ सासदको समर्थनमा खुम्चिएका छन् ।
वैशाख १९ गते प्रदेश सरकारलाई समर्थन गर्दै सरकारमा सहभागी शर्मा भौतिक पूर्वाधार विकास राज्यमन्त्री थिइन् । राजीनामा दिएपछि उनी बाहिरी सम्पर्कमा आउन चाहेकी छैनन् । उनका दुवै मोबाइल स्वीच अफ छन् ।
शर्माको राजीनामाबारे जसपाका दुवै पक्षका नेताले फरक–फरक प्रतिक्रिया दिएका छन् । जसपाबाट सत्ताको नेतृत्व गरेका पक्षको संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेले मन्त्री शर्माको राज्यमन्त्रीमा पहिलेदेखि नै असन्तुष्टि रहेकाले राजीनामा आएको हुनसक्ने बताए । ‘यो आन्तरिक विषय हो, हामी मिलाउँछौं’, उनले भने ।
तर जसपाबाट विपक्षी गठन्धनमा रहेका नेता सहश्रराम यादवले पार्टीको योजनाअनुसार नै उनको राजीनामा आएको बताए ।
सत्ता साझेदार माओवादी केन्द्रले मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि वैशाख १९ गते राजीनामा दिएका पोखरेलले जनता समाजवादी पार्टीका चार जना प्रदेशसभा सदस्यलाई साथमा लिइ दोस्रोपटक प्रदेश सरकारको नेतृत्व लिएका थिए ।
प्रदेशसभामा ६ जना सदस्य रहेको जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, कल्पना पाण्डे, विजय यादव र सुमन शर्मा रायमाझीलाई वैशाख १९ गते नै मन्त्री पद दिएर सरकारमा सहभागी गराएका थिए । तर राज्यमन्त्री रायमाझीले भने दुई महिना नबित्दै शुक्रबार मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा दिएकी हुन् ।
अहिले लुम्बिनीको विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १८, जसपाका २, जनमोर्चाका १ गरी ४० सांसद छन् । शुक्रबार राजीनामा दिएकी रायमाझीले गठबन्धनमै बसेपनि विपक्षीको बहुमत भने पुग्दैन । नेकपाबाट चुनाव जितेकी दाङकी विमला वली सर्वोच्चले पार्टी विभाजन गरेपछि एमालेमा रहेपनि पछि माओवादी प्रवेश गरेको भनी एमालेले कारवाही प्रकृया अगाडि बढाएकाले उनको विषयमा पनि अन्योल छ ।
यस प्रकरणसँगै अल्पमतमा परेका मुख्यमन्त्री पोखरेलले राजीनामाबारे परामर्श गरिरहेको स्रोतले बतायो ।
