नवकान्तिपुर संवाददाता
काठमाडौं, २० असार ।
सिभिल बैंकको २०७८ जेष्ठ २७ मा बसेको संचालक समितिको ३४५औं बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा २०७८ असार १८ गतेदेखि लागु हुने गरी आगामी चार वर्षको लागि सुनीलकुमार पोखरेललाई नियुक्त गरेको छ । पोखरेल २०७८ वैशाख १८ गतेदेखि कामु प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । उनी विगत दुई वर्षदेखि सिभिल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा आवद्ध थिए ।
नेपालका विभिन्न बैंकहरू जस्तै– स्ट्याण्डर्ड चाटर्ड नेपाल बैंकमा १६ वर्ष, एनआइसी एशिया बैंकमा साढे ५ वर्ष, नविल बैंकमा १ वर्ष र पछिल्लो २ वर्ष सिभिल बैंकमा गरी २४ वर्ष र नेपाल बाहिर स्ट्याण्डर्ड चाटर्ड बैंक, अफगानिस्तानमा साढे ३ वर्ष, म्यानमारको यूनाईटेड अमारा बैंकमा १ वर्ष र म्यानमारको एजीडी बैंकमा १ वर्ष गरी ६ वर्ष समेत गरीे नवनियुक्त पोखरेलको कूल तीन दशक लामो बैकिंग अनुभव रहेको बैंकले जनाएको छ ।
डिजिटलाईजेसनको माध्यमबाट कर्मचारीहरूको कार्य क्षमतामा अभिवृद्वि गर्दै कागजरहित बैंकको रूपमा अग्रसर हुँदै तथा ग्राहकमैत्री विविध नवीन योजनाहरू ल्याउँदै बैंकले व्यवसायको आयतनमा व्यापक वृद्धि गरी शेयर होल्डरलाई उचित प्रतिफल प्रदान गर्ने नवनियुक्त सीईओ पोखरेलले बताए ।
सीईओ पोखरेलको विगत तीन दशककोे अनुभवले सिभिल बैंकलाई नयाँ उचाइमा पुर्याउने कुरामा आफू विश्वस्त रहेको कुरा बैंकका अध्यक्ष इच्छाराज तामाङ्गले बताए । उनले बैंकले चालु आवमा व्यवसायिक आकारमा राम्रो प्रगति रहेको तथा आगामी दिनहरूमा समेत निरन्तर प्रगति अगाडि बढनेमा विश्वस्त रहेको पनि जानकारी गराए ।
सिभिल बैंकले चालु आर्थिक वर्षको जेष्ठ मसान्तसम्म रू. ८८.९४ अर्वको निक्षेप र रू. ८३.६० अर्वको कर्जा विस्तार गर्न सफल भएको पनि बैंकले जनाएको छ ।