नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असार ।
युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज राति हुँदैछ । इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेन प्रतिस्पर्धा गर्ने छन्। इटाली र स्पेनबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ।
दुवै टोली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन्। त्यसैले दुई ठूला टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ। इटाली र स्पेनबीचको विजेताले फाइनलमा इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ। इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ।
इटालीले फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै सेमिफाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो। क्वाटरफाइनलमा इटालीले बेल्जियमलाई २-१ गोल अन्तरले हराएको थियो। तीन पटकको च्याम्पियन स्पेनले क्वाटरफाइनलमा १० खेलाडीमा सिमित स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गरेको थियो।
इटाली र स्पेनबीच हालसम्म ३३ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले १२ खेल जितेको छ । १२ खेल बराबरीमा सकिदा ९ खेल इटालीले जितेको छ। पछिल्लो १४ खेलमा इटालीले स्पेनलाई मात्र दुई पटक हराउन सकेको छ। ७ खेल बराबरी खेल्दा ५ खेलमा इटाली पराजित भएको छ। युरोपियन च्याम्पियनसिपमा दुई टिमबीच सातौं पटक प्रतिस्पर्धा हुन लागेको हो।