एमाले एकता जोगाउने प्रयास, कार्यदलको बैठक आज पनि बस्दै

नेकपा एमालेको एकता जोगाउने प्रयासस्वरुप आज पनि कार्यदलको बैठक बस्दैछ । दिउँसो १ बजेका लागि बैठक तय भएको माधव नेपाल पक्षीय कार्यदल सदस्य भीम रावलले जानकारी दिए । पार्टीभित्र विवाद चर्किएपछि लामो समय बस्न नसकेको कार्यदल बैठक सोमबार साँझ सिंहदरबारमा बसेको थियो । जेठ २ गते गठन भएको कार्यदलले ५० दिनपछि औपचारिक छलफल शुरु गरेको हो ।

कार्यदलको पहिलो दिनको बैठक सकारात्मक रहेको र आजको बैठकमा थप छलफल गरिने कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिए । विष्टले लामो समयपछि बसेको कार्यदलको बैठकले एमाले भित्र सहमतिका लागि आशावादी हुने संकेत दिएको बताए ।



विष्टले औपचारिक रुपमा कसरी विवाद टुंगो लगाउन सकिन्छ भनेर दुवै पक्षबीच सकारात्मक ढंगले छलफल शुरु भएको बताए । ‘आशावादी हुने संकेत देखिएको छ, दुवै समूहमा रहेका सदस्यले पार्टी एकताका लागि इमानदारी पूर्वक पहल गछौं । पार्टी एकता सार्थक पुर्याउन बिषयबस्तु प्रस्तुत भएका छन, औपचारिक रुपले छलफल भएका छन् । भोलि व्यवस्थित ढंगले अगाडि अगाडी बढ्ने कुरा भएको छ’ विष्टले भने ।

कार्यदलमा संस्थापन पक्षबाट सुवास नेम्वाङ र माधव नेपालको तर्फबाट भीम रावल संयोजक छन् । कार्यदलले आन्तरिक विवाद समाधानका लागि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले जारी गर्ने संयुक्त वक्तव्यको मस्यौदा तयार गरेको छ।

सम्बन्धित समाचार