प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा अड्कियो एमालेको कार्यदल, ओली र नेपालको विकल्प खोज्ने तयारी

सत्तारुढ एमालेमा पार्टीको आन्तरिक विवाद समाधान गर्न बनेको कार्यदलको बैठक लगातार बसिरहे पनि सहमति जुट्न सकेको छैन । दुबै समूह आ आफ्नो अडानमा कायम छन् । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो बसेको बैठकले प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालले संयुक्त रुपमा जारी गर्ने विज्ञप्ति फाइनल गर्ने बताइए पनि त्यसो हुन सकेन ।

एमाले केन्द्रीय कमिटीको १३ औँ बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव र सर्वोच्च अदालतमा रिट दायर गर्दा पार्टीका २३ निवर्तमान सांसदबाट गरिएको हस्ताक्षर फिर्ता आग्रह गरेको थियो। अहिले कार्यदलमा विशेष गरी त्यही विषयमा केन्द्रित रहेर छलफल भएको छ।



दोस्रो पटक संसद विघटन भएको विषयमा सर्वोच्च अदालतमा मा मुद्दा परेपछि त्यसको सुनुवाई समेत सकिएको छ । नेपाल पक्षसमेत शेरबहादुर देउवाको पक्षमा रिट लिएर सर्वोच्चमा गएको थियो । सर्वोच्चले यस विषयमा २८ गते फैसला गर्दैछ ।

ओली पक्षले सर्वोच्च अदालको फैसला जे आउँछ त्यसमा पार्टीको संस्थागत धारणा बनाउने र अगाडि बढ्ने प्रस्ताव ल्याएको छ । यदि सर्वोच्चले संसद पुर्नस्थापित गरिदिएको खण्डमा सरकार कसको हुने भन्नेमा दुवै पक्षबीच विवाद छ ।

ओली पक्ष संसद पुर्नस्थापित भएको खण्डमा पनि अहिले कै सरकारलाई निरन्तरता दिने भन्ने निर्णय कार्यदलबाट गराउन चाहान्छ । तर, नेपाल पक्ष एमाले कै नेतृत्वमा सरकार बनाउन प्रयास गर्ने भन्ने भाषा राख्नेमा जोड गरिरहेको छ । सरकार एमालेकै बनाउने तर प्रधानमन्त्रीका रुपमा ओलीको निरन्तरता नहोस् भन्ने नेपाल पक्ष चाहान्छ । ओली र नेपाल दुवैमा सहमति नजुटे एमालेकै तेस्रो व्याक्तिलाई प्रधानमन्त्रीको रुपमा अघि सारेर एमाले एकता जोगाउने विषयमा पनि दोस्रो तहका नेताहरु छलफलमा जुटेको बताइन्छ ।

कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्। खनाल–माधव नेपालका तर्फबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघु पन्त सदस्य छन्।

सम्बन्धित समाचार