नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ असार ।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच एक्लाएक्लै वार्ता हुनु आफैमा सकारात्मक सन्देश भएको बताएका छन् । मेरियट होटलमा हिजो भएको वार्तामा सहभागी रहेका महासचिव पोखरेलले दुई नेताबीच विषयकेन्द्रित छलफल भएको जानकारी दिए ।
प्रधानमन्त्री तथा अध्यक्ष ओलीले वार्ताका लागि नेता नेपाललाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउन आग्रह गरेका थिए । तर नेता नेपाल बालुवाटार जान तयार नभएपछि नक्सालस्थित होटल मेरियटमा वार्ता तय भएको महासचिव पोखरेलले जानकारी दिए। वार्ता सकारात्मक ढङ्गले अघि बढेकाले एक वा दुई सिटिङमा कुरा मिल्नसक्ने उनले विश्वास व्यक्त गरे ।
नक्सालस्थित होटल मेरियटमा बुधबार अबेर अपरान्ह भएको करिब डेढ घण्टा लामो वार्ता भएको र करिब एक घण्टा दुई नेताहरु एक्लाएक्लै वार्ता भएको महासचिव पोखरेलले बताए । सहमतिको अन्तिम तयारीसाथ वार्ता थालिए पनि सबै विषयमा सहमति बन्न नसकेपछि आज टुङ्गो नलागेको उनले जानकारी दिए । वार्तामा अध्यक्ष ओली र नेता नेपालसँगै अन्य नेताहरु महासचिव पोखरेल, नेताहरु सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, भीमबहादुर रावल र सुरेन्द्र पाण्डेको सहभागिता थियो ।
