नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असार ।
जारी १६ औँ संस्करणको युरोकप फुटबल प्रतियोगिता अन्तिम अवस्थामा पुगेको छ । आगामी सोमबार राति १२ः४५ बजे बेलायतको वेम्बली स्टेडियममा अन्तिम खेल भएसँगै प्रतियोगिता समाप्त हुनेछ । यसपटकको युरोकप फाइनलमा विश्व विजेता देशहरू इटाली र इंग्ल्याण्ड भिड्ने भएका छन् । २४ वटा देशहरू सहभागी भएको प्रतियोगितामा इटालीले स्पेनलाई पराजीत गर्दै फाइनल प्रवेश गरेको हो । यस्तै, इंग्ल्याण्डले डेनमार्कलाई पराजीत गरेको हो ।
फाइनल प्रवेश गर्नका लागि इटालीले स्पेनलाई पेनाल्टीमा ४–२ गोल अन्तरले पराजीत गरेको थियो । यस्तै, इंग्ल्याण्डले डेनमार्कलाई २–१ गोलले पराजीत गरेको हो । इंग्ल्याण्ड पहिलोपटक युरो च्याम्पियनशिपको फाइनलमा पुगेको हो । उसले सन् १९६६ मा विश्वकप हात पारेको थियो । त्यसपछिका वर्षहरूमा जारी युरोकपको उपाधि इंग्ल्याण्डका लागि सबैभन्दा ठूलो उपाधि होड रहेको छ ।
५५ वर्ष लामो वर्ल्डकप वा युरोकप अवधिमा प्रमुख प्रतियोगिताको फाइनलमा प्रवेश गरेको इंग्ल्याण्ड पहिलो देश हुनसक्छ । जारी युरोकपको फाइनल खेल हुन लागेको वेम्बली स्टेडियममा नै इंग्ल्याण्डले विश्वकपको उपाधि हात पारेका थिए ।
युरोकप महादेश स्तरीय खेल प्रतियोगिताको सबैभन्दा ठूलो प्रतियोगिता हो । २४ देश सहभागी यस प्रतियोगितामा विजेता हुने देशले ठूलो मात्रामा धन राशीसहित विभिन्न पुरस्कार पाउने छ । जारी युरोकपको फाइनल खेलका विजेता इटाली वा इंग्ल्याण्डले ठूलो धन राशी पाउने छ । विजेताले एक करोड युरो अर्थात एक अर्ब ४१ करोड ३४ लाख रुपैयाँ पाउने छ ।
यस्तै, दोस्रो हुने देशले ७० लाख युरो अर्थात करिब एक अर्ब, तेस्रो र चौथो हुनेले ५० लाख युरो अर्थात ७० करोड ८२ लाख रुपैयाँ पाउने छ । यसैगरी क्वाटरफाइनलिष्ट ४ देशले ३२ लाख ५० हजार युरो अर्थात करिब ४६ करोड ३ लाख रुपैयाँ प्राप्त गर्दछन् ।